१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन देउवाको अपिल, ‘महाधिवेशनबाट पार्टीभित्रको मतभेद समाधान गरौँ’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १५, बिहीबार १०:०१

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।


देउवाले जारी गरेको अपिलमा नेपाली कांग्रेसको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने बताएका छन्।


उनले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरी सुरु हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सफलतापूर्वक सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।


देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।


देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।


‘पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरी पार्टीलाई थप मजबुत बनाऔँ’ भन्ने सन्देशसहित देउवाले कांग्रेसका नेता–कार्यकर्तालाई अधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *