धादिङ–१ कांग्रेसमा प्रतिनिधि छनोट विवाद, विदुर कार्कीले गरे बहिष्कारको आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १४, बुधबार २१:०९


धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा युवा नेता विदुर कार्कीले असन्तुष्टि जनाउँदै घोषित परिणाम बहिष्कार गर्न आह्वान गरेका छन्।


क्षेत्र नं. १ को प्रतिनिधिमूलक बैठकबाट विभिन्न समूह तथा क्लस्टरतर्फका महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको भन्दै नामावली सार्वजनिक गरिएको छ। सार्वजनिक सूचनामा खुलातर्फ १०, खुला महिलातर्फ ४, आदिवासी महिलातर्फ २, युवा महिलातर्फ १ र युवा खुलातर्फ २ जना गरी प्रतिनिधि चयन गरिएको उल्लेख छ।


सूचनाअनुसार खुलातर्फ कृष्ण रिजाल, रञ्जित पाठक, प्रशान्त किरण सुवेदी, मधु कुमार श्रेष्ठ, जीतनाथ ढकाल, दीपकचन्द्र थापलिया, दीपक कार्की, राधाकृष्ण भण्डारी, लक्ष्मण अर्याल र अर्जुनप्रसाद उप्रेती चयन भएका छन्।


त्यस्तै खुला महिलातर्फ शर्मिला बिश्वल, कविता इटनी, उर्मिला कँडेल र उर्मिला थपलिया (सीता), आदिवासी महिलातर्फ कृपा श्रेष्ठ र सीता थापा मगर, युवा महिलातर्फ लक्ष्मी सिलवाल तथा युवा खुलातर्फ गोविन्द अर्याल र सुमित गौली चयन भएको सूचनामा उल्लेख छ।


तर, युवा नेता कार्कीले भने उक्त प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई ‘कथित निर्वाचन नतिजा’ बहिष्कार गर्न आह्वान गरेका हुन्।
कार्कीले निर्वाचन नै नगरी परिणाम घोषणा गरिएको भन्दै प्रश्न उठाउँदै भनेका छन्, “निर्वाचन नै नगरी कस्तो कोठे परिणाम हो, अचम्म लाग्दो विषय रहेको छ।”


उनले आफूले उठाएका विषयमा केही नेताहरूलाई लक्षित गर्दै चुनावमा आफ्नै वडाबाट प्राप्त मत, आर्थिक तथा शक्ति प्रभाव र कहिले विशेष त कहिले नियमित अधिवेशन भन्ने विषयमा समेत प्रश्न उठाएका छन्।


कार्कीले पार्टीभित्र योग्य र सक्षम व्यक्तिलाई अवसरबाट रोकिएको दाबी गर्दै यस्तो प्रक्रियाविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्ने बताएका छन्। उनले आवश्यक परे संयुक्त राजीनामा दिने वा घोषित नेताहरूलाई नेतृत्वका रूपमा स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन्।


उनको भनाइ छ, “अब हामी तानाशाही कार्यको विरुद्धमा संयुक्त राजीनामा अथवा यी स्वघोषित कथित नेता भनाउँदाहरूलाई गल्छिले कहिले नेता मान्ने छैनौँ। बहिष्कार, बहिष्कार, बहिष्कार । जय नेपाल।”


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *