नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटमा बानियाँ परिवारका आमा–छोरा नै प्रतिनिधिका रूपमा कांग्रेस राजनीतिमा अघि आएका छन्। बेलकोटगढी नगरपालिका–४ का कांग्रेस युवा नेता भुविन्द्र बानियाँकी श्रीमती शोभा महर्जन (बानियाँ) र कान्छा छोरा अमाेन बहादुर. बानिया महाधिवेशन तथा प्रदेश अधिवेशनमा उम्मेदवार बनेका हुन्।
शोभा महर्जन (बानियाँले) नुवाकोट क्षेत्र नं. २, बेलकोटगढी–४ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधितर्फ खस आर्य महिला समूहमा उम्मेदवारी दिएकी छन्।
त्यस्तै, अमाेन बहादुर बानियाँ नुवाकोट क्षेत्र नं. २ (क) बाट प्रदेश सह–सचिव पदका उम्मेदवार बनेका छन्। उनले उम्मेदवारी सँगै ‘नयाँ पुस्ताको सोच, युवा नेतृत्वको जोश र संगठनप्रतिको प्रतिबद्धता’लाई मुख्य प्राथमिकता दिएका छन् ।
बानिया परिवारको कांग्रेस राजनीतिसँगको सम्बन्ध भने नयाँ होइन। अमानका बुबा भुविन्द्र बानियाँ लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय युवा नेताका रूपमा चिनिन्छन्। उनका हजुरबुबा नारायण बानिया पञ्चायतकालदेखि नै राजनीति तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए। यसरी बानियाँ परिवारले राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि निरन्तरता दिँदै आएको छ ।
यसपटक बानियाँ परिवारले आफू आबद्ध रहेको केसी समूह छाडेर बहादुर सिंह लामाको प्यानलबाट उम्मेदवार बनेका छन्। उनीहरुकाे उम्मेदवारीले नुवाकोट कांग्रेसभित्र युवा पुस्ताको भूमिकासँगै समूहगत समीकरणमा पनि चासो बढाएको छ।
बेलकोटगढी र विदुर क्षेत्रमा बानियाँ परिवारको सामाजिक तथा राजनीतिक सम्बन्ध बलियो रहेको कांग्रेस नेताहरू बताउँछन्। यही सम्बन्ध र पारिवारिक राजनीतिक विरासतलाई आधार बनाउँदै आमा–छोराको उम्मेदवारीले यसपटकको कांग्रेस अधिवेशनमा छुट्टै चर्चा पाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्