काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा सुरु गरेको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभरका करिब ३ हजार ५ सय वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
देउवा पक्षको महाधिवेशन सचिवालय समितिका संयोजक दीपक कुइँकेलका अनुसार अधिवेशन भएका वडामा सर्वसम्मति तथा मतदानमार्फत वडा कार्यसमिति चयन गरिएको छ। बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन गर्ने तयारी गरिएको छ। बाढीपहिरोका कारण केही स्थानमा अधिवेशन प्रभावित भएको जनाइएको छ।
पूर्वसभापति देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
देउवा पक्षले वडा अधिवेशनका लागि ५ लाख ७३ हजार २ सय ६९ पुराना क्रियाशील सदस्यता नवीकरण तथा २ लाख १० हजार ५ सय ६७ नयाँ क्रियाशील सदस्यता वितरण गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाएको जनाएको छ।
वडा अधिवेशनबाट क्रियाशील सदस्यताको संख्याका आधारमा २१ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ। १८ देखि २८ वर्ष उमेर समूहका युवाको प्रतिनिधित्वसँगै महिला, अपांगता भएका व्यक्ति, विषयविज्ञ, श्रमिक, प्रजातन्त्रका सेनानी, घाइते, द्वन्द्वपीडित तथा सहिद परिवारको प्रतिनिधित्व सुनिश्चित गरिएको देउवा पक्षको भनाइ छ।
वडा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा वडा कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ।
देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि २० असोजमा गाउँपालिका तथा नगरपालिका अधिवेशन, २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, १५ कात्तिकमा जिल्ला अधिवेशन र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने तयारी छ।
देउवा पक्षको समानान्तर केन्द्रीय महाधिवेशन २१ देखि २३ मंसिरसम्म गर्ने कार्यतालिका बनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्