नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा गम्भीर विवाद उत्पन्न भएको छ। करिब १३ सय मत रहेको क्षेत्रमा २०० मत गणना हुँदासम्म आइपुग्दा मतपत्रमा रहेको हस्ताक्षर फरक परेको विषयलाई लिएर विवाद चर्किएको हो।
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक देखिएको भन्दै अर्जुननरसिंह केसी पक्षले प्रश्न उठाएपछि मतगणना प्रक्रिया प्रभावित भएको छ। हस्ताक्षरमा देखिएको फरक मतदान अधिकृतको लापरबाहीका कारण भएको हो वा मतपत्रमा अन्य व्यक्तिको हस्ताक्षर प्रयोग भएको हो भन्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको बताइएको छ।
केसी पक्षले मतपत्रको पीडीएफ फाइल मतदानको दुई दिनअघि नै बाहिरिएको र सोही फाइलका आधारमा मतपत्र प्रिन्ट गरी घरघरमा पुर्याइएको तथा एकपक्षीय रूपमा मतदान गराइएको आरोपसमेत लगाएको छ। केसी पक्षले यस विषयमा छानबिन र स्पष्टता आवश्यक रहेको बताउँदै आएको छ।
यता बहादुर सिंह लामा पक्षले भने उक्त आरोपको खण्डन गरेको छ। मतपत्र र मतदान प्रक्रियामाथि उठाइएका प्रश्नहरूलाई राजनीतिक विवादका रूपमा प्रस्तुत गरिएको भन्दै लामा पक्षले निर्वाचन प्रक्रिया नियमानुसार नै अघि बढेको दाबी गरेको छ।
क्षेत्र नं. २ मा अर्जुननरसिंह केसी र बहादुर सिंह लामा पक्षबीच प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भिक २०० मत गणना हुँदा लामा पक्षले फराकिलो अग्रता कायम गरेको बताइएको छ। तर, मतपत्रको हस्ताक्षरसम्बन्धी विवादका कारण अन्तिम परिणाम र गणना प्रक्रिया थप अन्योलमा परेको छ।
नुवाकोट कांग्रेसभित्र क्षेत्र नं. २ को यो प्रतिस्पर्धालाई सामान्य क्षेत्रीय अधिवेशनको प्रतिस्पर्धाभन्दा पनि जिल्ला राजनीतिमा आफ्नो प्रभाव र वर्चस्व स्थापित गर्ने दुई धारबीचको संघर्षका रूपमा हेरिएको छ। दुवै पक्ष संस्थापन पक्षसँग जोडिएका भए पनि जिल्लाको नेतृत्व र राजनीतिक प्रभाव विस्तार गर्ने विषयमा उनीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
करिब १३ सय मतदाता रहेको क्षेत्रमा प्रारम्भिक चरणमै विवाद उत्पन्न भएपछि कार्यकर्तामाझ थप अन्योल सिर्जना भएको छ। लामो समयदेखि दुई धारमा विभाजित कांग्रेस संगठनभित्रको यस्तो विवादले आन्तरिक एकता कमजोर बनाउँदै संगठनलाई थप धक्का पुग्ने विश्लेषणसमेत हुन थालेको छ।
हाल दुवै पक्षका प्रतिनिधि र निर्वाचन अधिकारीबीच विवादित मतपत्र तथा हस्ताक्षरका विषयमा छलफल जारी रहेको छ। विवादको निष्कर्षपछि मात्रै मतगणना नियमित रूपमा अघि बढ्ने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्