नुवाकोट–२ कांग्रेसको क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी, सचिव विवेक लामिछाने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार ०७:५८

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी भएका छन्। उनले प्रतिस्पर्धी आशा तामाङलाई २१८ मतको अन्तरले पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।

निर्वाचन समितिका अनुसार सिंहराज लामाले ६८२ मत प्राप्त गर्दा आशा तामाङले ४६४ मत प्राप्त गरिन्। लामाले तामाङलाई २१८ मतको स्पष्ट अन्तरले पराजित गरेका हुन्।

सिंहराज लामा केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा निकट मानिन्छन् भने उनकी प्रतिस्पर्धी आशा तामाङ केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकट समूहबाट उम्मेदवार बनेकी थिइन्। यसअघि क्षेत्र नं. २ मा संस्थापन पक्षभित्रै केसी र लामा समूह छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए।

त्यस्तै, क्षेत्रीय सचिव पदमा पनि सिंहराज लामा प्यानलका विवेक लामिछाने विजयी भएका छन्। उनले कृष्णबहादुर अधिकारीलाई २१० मतको अन्तरले पराजित गरेका हुन्। लामिछानेले ६६९ मत प्राप्त गर्दा अधिकारीले ४५९ मत प्राप्त गरे।

क्षेत्रीय कार्यसमितिमा समेत सिंहराज लामा प्यानलका उम्मेदवारहरू विजयी भएको जनाइएको छ। यससँगै क्षेत्र नं. २ को क्षेत्रीय नेतृत्वमा लामा समूहको प्यानलले आफ्नो उपस्थिति बलियो बनाएको छ।

क्षेत्रीय अधिवेशनमा सभापतिसहित कार्यसमिति र अन्य पदमा प्यानल बनाएर प्रतिस्पर्धा भएको थियो। यसअघि नै क्षेत्र नं. २ मा संस्थापन पक्षभित्र केसी र लामा समूहबीच छुट्टाछुट्टै प्यानल बनेको समाचार सार्वजनिक भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *