–शुकदेव दाहाल
विदुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटमा भएको आन्तरिक प्रतिस्पर्धाले जिल्लाको कांग्रेस राजनीतिमा नयाँ शक्ति–सन्तुलनको संकेत गरेको छ । लामो समयदेखि नुवाकोट कांग्रेसको राजनीतिमा प्रभावशाली रहँदै आएको अर्जुननरसिंह केसी परिवारको पकड यसपटक उल्लेख्य रूपमा खुम्चिँदा सहमहामन्त्री बहादुरसिंह लामाको राजनीतिक वर्चस्व बलियो बनेको देखिएको छ ।
नुवाकोट कांग्रेसको राजनीतिमा केसी परिवारको प्रभाव नयाँ होइन । पञ्चायतकालदेखि नै सक्रिय राजनीतिमा रहँदै आएका अर्जुननरसिंह केसीसँगै उनका भाइहरू जगदीश्वरनरसिंह केसी र डा. केदारनरसिंह केसी पनि प्रत्यक्ष राजनीतिमा सक्रिय छन् । लामो समयदेखि जिल्लाको संगठन निर्माणदेखि निर्वाचनसम्म केसी परिवारको प्रभाव निर्णायक मानिँदै आएको थियो । सामाजिक रुपमा पनि केसी परिवारको योगदान कम छैन ।
तर, १५औँ महाधिवेशनसम्म आइपुग्दा त्यो अवस्था बदलिएको देखिएको छ । कुनै समय केसी परिवारकै राजनीतिक सहयात्रीका रूपमा अघि बढेका बहादुरसिंह लामाले अहिले नुवाकोट कांग्रेसमा आफ्नै बलियो आधार निर्माण गरेका छन् । लामाको जन्म २०२७ साल कार्तिक ८ गते नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामना भन्ने स्थानमा भएको हो । बुबा स्वर्गीय दिपबहादुर लामा र आमा स्वर्गीय पूर्णिमाया लामाको कोखबाट जन्मिएका लामा सानैदेखि सामाजिक काममा सक्रिय थिए ।
सानैदेखि हक्कि स्वभावका लामा गाउँकै स्कुलबाट निमाविसम्मको अध्ययन पूरा गरी जिल्ला सदरमुकाम विदूरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । लामाको एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । २०४३ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका लामाले शंकरदेव क्याम्पसबाट आफ्नो राजनीतिक सक्रियता बढाए । २०४५ सालमा तत्कालीन नुवाकोट क्षेत्र नं ३ बाट नेविसंघ क्षेत्रीय सभापति बनेका लामा जिल्ला उपसभापति हुँदै राजनीतिमा उदाएका पात्र हुन् ।२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्ष निर्वाचित भएपछि उनको राजनीतिले थप नयाँ उचाइ लियो ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नुवाकोट क्षेत्र नं ३ बाट पराजित भएका थिए । तर २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीलाई हराउँदै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बनेका लामा कांग्रेसको १३औँ महाधिवेशन र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०७९ सालको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘ख’ बाट लामा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए । १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षमा रहेर पनि जिल्लामा आफ्नो प्रभाव देखाइसकेका लामाले यसपटक भने केसी पक्षसँग प्रत्यक्ष प्रतिस्पर्धा गरे । परिणाम उनका लागि निकै उत्साहजनक रह्यो ।
नुवाकोट क्षेत्र नं. २ मा लामापक्षले महाधिवेशन प्रतिनिधिमा उल्लेख्य बहुमत हासिल गरेको छ । लामापक्षबाट २८जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा केसी पक्ष ५ जनामा सीमित भएका छन् । त्यो पनि केसी दाजुभाई र कांग्रेस जिल्ला सभापतिको तयारी गरिरहेका कांग्रेसका शसक्त युवा नेता सुरेन्द्र अधिकारी मात्र परे, मदन भुजेल र कृष्ण थपलीयाले थोरै मतले जितेका छन् । उनीपक्षका उम्मेदवार त निकै पछि परेका छन् । क्षेत्रीय समिति र प्रदेश तहमा समेत लामापक्षले आफ्नो प्रभाव कायम गरेको छ । केसी पक्षले भने क्षेत्रीय तहमा अपेक्षित परिणाम निकाल्न सकेन । यसलाई नुवाकोट कांग्रेसमा लामाको संगठनात्मक विजयका रूपमा मात्र नभई पुरानो शक्ति–सन्तुलनमा आएको परिवर्तनका रूपमा पनि हेरिएको छ ।यद्यपि केसी परिवारले निर्वाचनको मतपत्रमा प्रयोग गरिएको हस्ताक्षर र त्यसबाट आएको परिणामप्रति प्रश्न उठाएको छ । यसले निर्वाचनको विश्वसनियतामाथि भने प्रश्न उठेको छ ।
दुई धारमा विभाजित संस्थापन पक्ष यसपटक नुवाकोटमा संस्थापन पक्षभित्रै दुई धार देखियो । एकातिर लामाको नेतृत्वमा संगठित समूह थियो भने अर्कोतिर केसी परिवारको प्रभावमा रहेको समूह । संस्थापनइतर पक्ष भने प्रभावकारी रूपमा प्रतिस्पर्धामा देखिन नसक्दा जिल्लाको मुख्य प्रतिस्पर्धा संस्थापन पक्षकै दुई धारबीच सीमित भयो । यसले नुवाकोट कांग्रेसमा अब पुरानो संरचनामाथि नयाँ पुस्ता र नयाँ नेतृत्वको चुनौती थपिएको संकेत गरेको छ ।
राजनीतिक वृत्तमा केसी परिवारको कमजोर प्रदर्शनका पछाडि लामो समय एउटै शैलीमा संगठन सञ्चालन हुनु, प्रभावकारी सल्लाहकार समूहको अभाव, परिवारभित्रैको राजनीतिक प्रतिस्पर्धा तथा पछिल्लो पुस्तालाई पर्याप्त स्थान दिन नसक्नुजस्ता कारण रहेको चर्चा हुन थालेको छ । नुवाकोट १ मा क्षेत्रीय सभापति तथा केही तहमा प्रभाव कायम राखे पनि महाधिवेशन प्रतिनिधिको परिणामले केसी पक्षलाई चुनौती दिएको छ । विशेषगरी नुवाकोट क्षेत्र नं. २ मा लामापक्षको बलियो प्रदर्शनले जिल्लाको आगामी कांग्रेस राजनीतिमा यसको दीर्घकालीन प्रभाव पर्ने देखिन्छ।
नुवाकोट क्षेत्र नं. १ मा समेत केसीनिकट युवाहरूबाट असन्तुष्टि र विद्रोहका स्वर देखिनु तथा प्रदेश तहमा नयाँ पुस्ताका नेताहरूको प्रभाव बढ्नुले पुरानो नेतृत्वका लागि थप चुनौती सिर्जना गरेको छ । यसपटक दुवै क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको केसी पक्षले आगामी दिनमा आफ्नो संगठन पुनर्गठन गर्नुपर्ने अवस्था देखिएको कांग्रेसभित्रकै नेताहरू बताउँछन .
युवाको साथ र संगठन विस्तार लामाको बल
बहादुरसिंह लामाको उदयका पछाडि उनको संगठनात्मक सक्रियता, युवामाझको पहुँच, जातीय तथा सामाजिक आधारमा रहेको समर्थन, सहयोगी राजनीतिक सम्बन्ध र काम गर्ने दृढ इच्छाशक्तिलाई मुख्य कारणका रूपमा हेरिएको छ । आर्थिक रूपमा समेत सक्षम मानिने लामाले संगठन विस्तार र कार्यकर्तासँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको उनका समर्थकहरूको दाबी छ । विशेषगरी युवापंक्तिमा उनको बढ्दो आकर्षणले यसपटकको परिणाममा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । नुवाकोट कांग्रेसमा लामाको यो उदयले एउटा स्पष्ट सन्देश दिएको छ—लामो समयदेखि एउटै परिवारको प्रभावमा रहेको भनिएको संगठन अब नयाँ शक्ति र नयाँ नेतृत्वको दिशातर्फ अघि बढिरहेको छ।
१५औँ महाधिवेशनको परिणामले बहादुरसिंह लामालाई नुवाकोट कांग्रेसको नयाँ निर्णायक शक्तिका रूपमा स्थापित गरेको छ भने केसी परिवारका लागि भने आफ्नो परम्परागत राजनीतिक आधार जोगाउने चुनौती थपिएको छ । अब केन्द्रीय महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका लामा र आफ्नो सहादर ज्वाई कांग्रेस राजनीतिको केन्द्रमा रहेका बेला केसी परिवारले लिने लाभ कस्तो रहन्छ त्यसले दुवै पक्षको राजनीतिक भविष्य निर्धारण गर्ने देखिन्छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्