नुवाकोट पुकार
नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँगै नुवाकोट कांग्रेसभित्र नेतृत्व, गुट र प्रतिनिधित्वको विषयलाई लिएर नयाँ बहस सुरु भएको छ। विशेषगरी कुनै प्रभावशाली नेताको ‘खल्ती सूची’मा नपरेका भनिएका युवा नेता गोकर्ण पुडासैनीले प्राप्त गरेको सम्मानजनक मतले परम्परागत गुटको घेराभन्दा बाहिर पनि बलियो जनमत रहेको संकेत गरेको छ।
कांग्रेस सभापति गगन थापाले विशेष महाधिवेशनको खुला फोरमबाट कांग्रेसलाई ‘दास र लास’को पार्टी नभई जीवित मानिस, विचार र प्रश्न गर्नेहरूको पार्टी बनाउनुपर्ने उद्घोष गरेका थिए। उनै थापाको नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइरहँदा नुवाकोटमा भने उक्त बहसको व्यवहारिक कार्यान्वयनबारे प्रश्न उठ्न थालेको छ।
महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा बेलकोटगढीका युवा नेता गोकर्ण पुडासैनीले २४५ मत प्राप्त गरे। उनी कुनै प्रमुख गुटको आधिकारिक प्यानलमा नरहेको अवस्थामा पनि ल्याएको यो मतलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनको मत विजयी बहादुरसिंह लामा समूहका उम्मेदवारले प्राप्त गरेको करिब ४०० मत र केसी समूहका उम्मेदवारले प्राप्त गरेको २५१ मतको आसपास पुगेको देखिन्छ।
विशेषतः केसी समूहका उम्मेदवारको २५१ मतभन्दा पुडासैनीको मत केवल ६ मतले कम हुनु र कुनै प्यानलको औपचारिक समर्थनबिना उनले उक्त मत हासिल गर्नुले नुवाकोट कांग्रेसभित्र गुटभन्दा बाहिरको मतदाताको मनोविज्ञानलाई समेत उजागर गरेको छ।
पुडासैनीले आफू कुनै व्यक्ति वा गुटको प्रतिनिधिभन्दा पनि कांग्रेसभित्र योग्यता, योगदान, विचार र जनसम्बन्धका आधारमा अवसर पाउनुपर्ने पक्षमा आफूलाई उभ्याउँदै आएका छन्। निर्वाचन परिणामले पनि उनको यो धारणा पूर्णतः कमजोर नभएको देखाएको उनका समर्थकहरूको बुझाइ छ।
कानुनका विद्यार्थीसमेत रहेका पुडासैनी सामाजिक गतिविधिमा सक्रिय युवा नेता हुन्। बेलकोटगढी नगरपालिका–८ बाट वडा अध्यक्षका उम्मेदवारसमेत बनिसकेका उनी सरल व्यवहार, सामाजिक सक्रियता र युवासँगको सम्बन्धका कारण स्थानीय तहमा परिचित छन्।
महाधिवेशनमा पराजित भए पनि उनको मतलाई भने सामान्य हारका रूपमा मात्र हेर्न नहुने कांग्रेसभित्र चर्चा हुन थालेको छ। प्रभावशाली नेताको रोजाइमा नपरेका, तर संगठन र समाजमा सक्रिय युवाले आफ्नै बलमा उल्लेख्य मत ल्याउन सक्नुले आगामी दिनमा नुवाकोट कांग्रेसको राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाएको छ।
पुडासैनीले आफूलाई विश्वास गरेर मतदान गर्ने सबै प्रतिनिधिप्रति आभार व्यक्त गर्दै अब टिम वा गुटभन्दा माथि उठेर कांग्रेसलाई बलियो बनाउने अभियानमा एकताबद्ध हुनुपर्ने धारणा राखेका छन्।
उनको भनाइको सार छ— कसैको विरोधका लागि होइन, कांग्रेसलाई अझ लोकतान्त्रिक, बलियो र सम्मानजनक बनाउन सबै एक ठाउँमा उभिनुपर्छ।
१५औँ महाधिवेशनको परिणामसँगै नुवाकोट कांग्रेसमा उठेको मूल प्रश्न पनि यही हो—पार्टीमा योगदान गर्ने सबैलाई अवसर दिने कि सीमित गुट र नेताको रोजाइमा मात्र राजनीतिक अवसर निर्धारण गर्ने?
पुडासैनीले पाएको २४५ मतलाई यही प्रश्नको उत्तर खोज्ने नयाँ राजनीतिक बहसको प्रारम्भका रूपमा हेर्न थालिएको छ। विशेषगरी महाधिवेशनपछि धेरै युवा कार्यकर्ता परम्परागत गुटगत कित्ताभन्दा बाहिर रहेर आफ्नो राजनीतिक पहिचान निर्माण गर्न सक्ने सम्भावनाबारे कांग्रेसभित्र चर्चा सुरु भएको छ।
यस अर्थमा पुडासैनीको पराजय एउटा निर्वाचनको परिणाम मात्र नभई गुटको सूचीभन्दा बाहिर पनि कांग्रेसभित्र मत, विचार र सम्भावना जीवित रहेको संकेतका रूपमा व्याख्या हुन थालेको छ।
अब नुवाकोट कांग्रेसको आगामी राजनीति कता जान्छ भन्ने प्रश्नसँगै अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ—कांग्रेस ‘दास र लास’को राजनीतिक संस्कारबाट मुक्त भएर विचार, योग्यता र योगदानको मूल्याङ्कन गर्ने पार्टी बन्न सक्छ कि सक्दैन?
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्