२० असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोरसिंह राठौरले अहिलेको अवस्थामा कांग्रेसलाई पुनः मजबुत बनाएर उठाउन निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
हिमालय टेलिभिजनको ‘यक्षप्रश्न’ कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै राठौरले पार्टीभित्र एकता कायम हुन नसके कांग्रेस अझ कठिन अवस्थामा पुग्ने दाबी गरे।
‘यही पार्टीलाई उठाउन गाह्रो छ। यहाँ जतिसुकै हल्ला र ठूला कुरा गरेर हुँदैन। हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भित्तामा पुर्याइसक्यो,’ उनले भने, ‘कम्युनिस्टहरू मिल्दैछन्, अझ भित्तामा जान्छ। कांग्रेस पार्टी फुट्दैछ, अझ भित्तामा जान्छ।’
कांग्रेसको वास्तविक अवस्था आगामी स्थानीय तहको निर्वाचनबाट स्पष्ट हुने उनको भनाइ छ। अब धेरै टाढाको अवस्था हेर्न आवश्यक नरहेको भन्दै उनले आगामी ६ महिनामै पार्टीको जनमत र सांगठनिक अवस्थाको परीक्षण हुने बताए।
‘तपाईं हेर्नुस्, ६ महिना। धेरै टाढा जानै पर्दैन, स्थानीय चुनाव आउँदैछ। तपाईं थाहा पाइहाल्नुहुन्छ,’ राठौरले भने, ‘हामीले धेरै ठूला कुरा गरेर, हल्ला गरेर यो र ऊ भन्ने बेला होइन।’
रास्वपा र कम्युनिस्ट शक्तिहरूको सम्भावित चुनावी प्रभाव तथा कांग्रेसभित्रको विभाजनले आगामी निर्वाचनमा पार्टीलाई थप क्षति पुग्न सक्ने उनको चेतावनी छ।
‘रास्वपाले भित्तामा पुर्याइसक्यो, कम्युनिस्ट मिलेर लड्दा गाह्रो होला नि। सिंगो पार्टी लड्दा र फुटेर लड्दा गाह्रो होला नि,’ उनले भने, ‘जिताउन पो गाह्रो छ, बिगार्न त १०–१५ मत हरेक वडामा मान्छे उठाएर हराए सिद्धेन?’
आफू सभापति बनेमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनु आफ्नो पहिलो प्राथमिकता हुने राठौरले बताए। त्यसपछि पार्टीभित्र न्याय स्थापित गर्ने उनको भनाइ छ।
‘पहिलो कुरा पार्टीलाई एकढिक्का बनाउँछु, दोस्रो– पार्टीमा न्याय गर्छु,’ उनले भने। राठौरले कांग्रेसभित्र विगतदेखि नै नेताकार्यकर्तामाथि अन्याय हुँदै आएको दाबी गरे। गिरिजाप्रसाद कोइरालादेखि वर्तमान सभापतिका उम्मेदवार गगन थापाको समयसम्म पनि पार्टीभित्र न्यायपूर्ण व्यवहार हुन नसकेको उनको आरोप छ।
गगन थापालाई लक्षित गर्दै उनले चुनाव जितेर आएका नेताहरूलाई समेत टिकट नदिइएको भन्दै त्यसको कारण सार्वजनिक रूपमा स्पष्ट गर्नुपर्ने बताए।
‘उहाँले जितेका मान्छेलाई पनि टिकट दिनुभएन। के कारणले दिनुभएन ? त्यसको जस्टिफिकेसन दिनुपरेन ?’ राठौरले प्रश्न गरे।
उनले महिला नेतृ सीता गुरुङको उदाहरण दिँदै चुनाव जितेर आएकालाई समेत पुनः टिकट नदिइएको विषयमा नेतृत्वले जवाफ दिनुपर्ने बताए। कांग्रेसभित्र यस्ता धेरै उदाहरण रहेको उनको दाबी थियो।
राठौरले आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन गुटभन्दा माथि उठेर पार्टी एकता, न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने संकेत गरेका छ
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्