बजेट विवादपछि सूर्यगढीकी लेखा अधिकृत न्यौपाने मन्त्रालयमा काज सरुवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २२, बिहीबार १५:५६

काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन तथा भुक्तानी प्रक्रियालाई लिएर विवादमा परेकी लेखा अधिकृत सम्पदा न्यौपानेलाई बागमती प्रदेश सरकारले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीको निजी सचिवालयमा काजमा खटाएको छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी गर्दै न्यौपानेलाई अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङको निजी सचिवालयमा कामकाज गर्ने गरी जिम्मेवारी तोकेको हो। उनको पदाधिकार भने सूर्यगढी गाउँपालिकामै रहने र तलबभत्ता पनि गाउँपालिकाबाटै भुक्तानी हुने पत्रमा उल्लेख छ।


गाउँपालिकामा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन र भुक्तानीका विषयमा विवाद भएपछि न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्यायलाई पत्राचार गरेकी थिइन्। असोज १३ गते पठाइएको पत्रमा शीर्षकगत बजेट प्रणालीमा प्रविष्टिका लागि आवश्यक विवरण प्राप्त नभएको र खाता सञ्चालनसम्बन्धी प्रक्रिया अघि नबढेको उल्लेख गरिएको थियो।


बजेट विवरण तथा खाता सञ्चालनमा समस्या हुँदा विकास निर्माणका काम प्रभावित हुनुका साथै कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तासमेत भुक्तानीमा समस्या आएको जनाइएको थियो।


यसैबीच, गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले लेखा अधिकृतको काज सरुवापछि रोकिएका भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन्। उनका अनुसार नयाँ कर्मचारी आएपछि बजेट प्रणाली सञ्चालन गरी कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई प्राथमिकतामा राखिनेछ।


अध्यक्ष घलेले गाउँपालिकाले क्यान्सर, मेरुदण्डसम्बन्धी समस्या, पक्षघातलगायत गम्भीर अवस्थाका बिरामीलाई दिँदै आएको आर्थिक सहयोगसमेत भुक्तानीसम्बन्धी समस्याबाट प्रभावित भएको बताए। नयाँ कर्मचारी आएपछि ती कामहरू पनि क्रमशः सञ्चालनमा आउने उनको भनाइ छ।


तर लेखा अधिकृत न्यौपानेले भने आफूले कुनै काम अवरुद्ध नगरेको बताउँदै खाता सञ्चालनको अख्तियारी (प्रत्यायोजन) नदिइएकै कारण समस्या उत्पन्न भएको दाबी गरेकी छन्।
बजेट र भुक्तानीसम्बन्धी विवादकै बीच प्रदेश सरकारले न्यौपानेलाई मन्त्रालयमा काजमा खटाएपछि सूर्यगढी गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनका लागि नयाँ कर्मचारी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *