आफ्नो नाम जोडेर सार्वजनिक गरिएका उम्मेदवारको सूचीलाई समर्थन नठान्न गगन थापाको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २३, शुक्रबार ०७:४३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो समर्थन रहेको भन्दै विभिन्न उम्मेदवारहरूको सूची सार्वजनिक भइरहेका बेला त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएपछि विज्ञप्ति जारी गर्दै थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट हुन आग्रह गरेका हुन्।

थापाले यसपटक पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न अफवाहमा नलाग्न आग्रह गरेका छन्। उनले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा कुनै पनि भ्रम वा प्रभावमा नपरी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई अपिल गरेका छन्।

उनले मतदान प्रक्रियामा सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुनसमेत आग्रह गरेका छन्।

हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएकोप्रति क्षमा माग्दै थापाले प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *