दसैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लाइन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २३, शुक्रबार ०७:५६

काठमाडौं । दसैँतिहारलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ। चाडपर्वमा घर जाने यात्रुको चाप बढ्ने भएकाले लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको यातायात व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

टिकट बुकिङ खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि यात्रुको लामो लाइन लागेको छ। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार मंगलबार राति ९ बजेदेखि नै यात्रु टिकट लिन लाइनमा बसेका थिए।


विशेषगरी बझाङ, बाजुरा र धनगढी जाने यात्रुहरू रातिदेखि नै टिकटको प्रतीक्षामा रहेको मल्लले जानकारी दिए। यात्रुको चापलाई व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।


चाडपर्वलाई व्यवस्थित बनाउन फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट परमिट खुला गरिने व्यवस्था गरिएको छ।
चाडपर्वका समयमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न तथा खसीबोकाजस्ता अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई प्राथमिकता दिइने भएको छ। त्यस्तै, यात्रु ठगी र कालोबजारी रोक्न तथा भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका र बस स्टेसनहरूमा सहायता कक्ष स्थापना गरिने भएको छ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दसैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने बताएका छन्। उनले यात्रुलाई पूर्वनिर्धारित भाडादरमै आवतजावतको व्यवस्था गर्न व्यवसायीहरू प्रतिबद्ध रहेको जानकारी दिए।


वर्षा तथा प्राकृतिक प्रकोपका कारण विभिन्न स्थानमा सडक बिग्रिएकाले जोखिमपूर्ण अवस्थामा सवारीसाधन नचलाउन पनि चालकहरूलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *