काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि ‘दसैँ तिहार अफर २०८३’ ल्याउने भएको छ। अफरमा फाइबर इन्टरनेट जडान शुल्क छुटदेखि मोबाइल डेटा, भ्वाइस र एसएमएसका विशेष प्याकेज समावेश छन्।
टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच सेवा जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनासहित १३ महिनाको सेवा पाउनेछन्। बोनसका रूपमा प्राप्त हुने मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ। भर्चुअल सेटटप बक्ससहितको प्याकेजमा भने एक हजार रुपैयाँ छुटको सुविधा पनि उपलब्ध छ।
मोबाइल डेटा प्रयोगकर्ताका लागि टेलिकमले ४९९ रुपैयाँमा पाँच जीबी दैनिक डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी दैनिक डेटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज ल्याएको छ। तोकिएको दैनिक डेटा सीमा सकिएपछि पहिलो प्याकेजमा बाँकी समय दुई एमबीपीएस र प्रिमियम प्याकेजमा तीन एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी, २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज र ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन मिल्ने ‘फेस्टिभ म्यासेज प्याकेज’ उपलब्ध हुनेछ। यी प्याकेजको समयावधि ३० दिन रहनेछ।
मोबाइल सेवाका लागि ल्याइएका अफर २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत प्याकेज लिन सक्नेछन्।
चाडपर्वका बेला आफन्त तथा परिवारसँग सम्पर्क सहज बनाउनुका साथै डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष अफर ल्याइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्