
काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपाल आउनु भएको छ । उहालाई शनिबार साँझ त्रिभुवन विमानस्थलमा परराष्ट्मन्त्री एनपी साउदसहित परराट् मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुनेछ । महासचिव गुटेर्रेसलेसङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको जनाइएको छ । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ ।
आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ । आ महासचिव गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिने तयारी छ ।महासचिव गुटेर्रेसले संसद् भवनकै स्काई हलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेटको कार्यक्रम पनि तय भएको छ । स्काई हलका भेट र प्रतिनिधि सभाको बैठकका कारण संयुक्त बैठक बस्ने प्रतिनिधि सभाको बैठक कक्षको आन्तरिक सजावट भने आइतबारपछि मात्र गर्न लागिएको हो ।
सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गर्दै छ । गुटेर्रेसको भ्रमणलाई ध्यानमा राखेर संसद्को चालु अधिवेशनसमेत लम्ब्याइएको थियो । सम्बोधनपछि अधिवेशन अन्त्यको तयारी छ । महासचिव गुटेर्रेस असोजमै नेपाल आउने र संसद्मा सम्बोधन गर्ने तयारी भए पनि इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणपछि नेपाल भ्रमण रोकिएको थियो । असोज २७ गतेका लागि सम्बोधनको तयारी भएको थियो । राष्ट्रसङ्घका महासचिवले संसद्मा सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।
यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद् भवनकै बैठक कक्षबाहिरको हलमा भने सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो । यस्तै २०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन व्यवस्थापिका संसद्मा सम्बोधन गर्नुभएको थियो । हालको प्रतिनिधि सभाको बैठक कक्षमै मोदीले सम्बोधन गर्नुभएको थियो । २०७६ मा म्यानमारकी नेतृ आङ सान सुचीले पनि सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो । तर उक्त सम्बोधन संसद् भवनको ल्होत्से हलमा भएको थियो ।