नुवाकोट ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान नुवाकोटमा चलिरहेको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नुवाकोटमा संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा जनताका समस्या पहिचान गर्ने अभियानसहित सञ्चालित उक्त कार्यक्रम लाई तीव्रता दिएको रास्वपाले जनाएको छ ।
शनिबार (आज) विदुर नगरपालिका तथा बेलकोटगढी नगरपालिकामा आयोजित कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साे पार्टीका नेता तथा सांसद डा. राजुनाथ पाण्डेको विशेष उपस्थितिमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, सामाजिक क्षेत्रसँग समन्वय र सहकार्य बढाउने तथा आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
कार्यक्रममा विभिन्न समस्याबाट प्रभावित नुवाकोट जिल्लाको पुनरुत्थान, स्थानीय नागरिकका समस्या समाधान तथा जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने विषयमा समेत विचार–विमर्श गरिएको थियो।
रास्वपा नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको संगठन विस्तार गर्ने, जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने र उनीहरूका वास्तविक समस्या बुझेर समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
गजुरेलले आगामी दिनमा जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिए। जनताका गुनासा, आवश्यकता र अपेक्षा बुझ्दै स्थानीय तहमा देखिएका समस्यालाई सम्बोधन गर्न पार्टीले जनसम्पर्क अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।
‘हामी आउँदै छौँ, तपाईंको गाउँमा’ भन्ने सन्देशसहित रास्वपाले नुवाकोटका विभिन्न स्थानीय तहमा पुगेर संगठन विस्तार, जनसंवाद र स्थानीय समस्याको पहिचानलाई अभियानका रूपमा अघि बढाउने जनाएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्