गोरखा । बूढीगण्डकी नदीमा भीषण बाढी आएपछि ६ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै गोरखाको आरूघाटस्थित जलमापन केन्द्रमा बूढीगण्डकी नदीको जलसतह खतराको तहभन्दा धेरै माथि पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार आइतबार बिहान पौने १० बजे आरूघाटमा बूढीगण्डकी नदीको जलसतह ८.४३ मिटर पुगेको छ। उक्त स्थानमा नदीको सतर्कता तह ४.५ मिटर र खतराको तह ५ मिटर निर्धारण गरिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
बूढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूली नदीमा मिसिने भएकाले त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म बाढीको जोखिमलाई ध्यानमा राखेर सतर्क रहन आग्रह गरिएको हो।
सम्भावित जोखिमबाट जोगिन नदी किनारमा नजान, जलसतह बढिरहेको अवस्थामा सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन निकायले जारी गरेका सूचनाको पालना गर्न आवश्यक छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्