बाढीपछि टुटेको ढुङ्गे–त्रिशूली सडक सम्पर्क जोडिँदै, बेलिब्रिज निर्माण तीव्र

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १, शनिबार ११:२३

नुवाकोट । विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। पुल निर्माणका लागि आवश्यक अधिकांश सामग्री कार्यस्थलमा ल्याइसकिएको छ भने बाँकी सामग्री पनि ल्याउने क्रममा रहेको छ।

विदुर नगरपालिकामार्फत निर्माण भइरहेको उक्त बेलिब्रिजका लागि सडक विभागले बेलिब्रिज उपलब्ध गराएको हो भने नेपाली सेनाले पुल जडान गर्नेछ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।


गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले त्रिशूली बजार क्षेत्रमा रहेका दुईवटा पक्की पुल बगाएपछि ढुङ्गे र त्रिशूली बजारबीचको नियमित सवारी आवागमन अवरुद्ध हुँदै आएको छ। पुल नहुँदा स्थानीयवासी तथा यात्रुहरू लामो समयदेखि वारपारमा कठिनाइ भोग्दै आएका थिए।


यसबीच त्रिशूली नदी वारपारका लागि शुक्रबारदेखि झोलुङ्गे पुल सञ्चालनमा आएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि पैदल यात्रुहरूलाई केही राहत मिलेको छ। त्यसअघि स्थानीयवासीले नदी वारपार गर्न दुईवटा तुइन र ‘जिपलाइन’ को सहारा लिनुपरेको थियो।


झोलुङ्गे पुलले तत्कालका लागि आवागमनमा केही सहजता ल्याए पनि सवारीसाधन सञ्चालन हुने बेलिब्रिज निर्माण सम्पन्न भएपछि ढुङ्गे–त्रिशूली बजारबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।


भदौ १० गतेको बाढीपछि नेपाली सेनाको सक्रियतामा देवीघाट र बेत्रावतीमा समेत बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। बाढीबाट क्षतिग्रस्त भएका अन्य स्थानमा पनि अस्थायी पुल तथा वैकल्पिक आवागमनको व्यवस्था गर्ने काम भइरहेको छ।


बागमती प्रदेश सरकारको तथ्यांकअनुसार भदौ १० गतेको बाढीले प्रदेशका विभिन्न क्षेत्रमा ३४ वटा पुल बगाएको थियो। क्षतिग्रस्त संरचनामध्ये ११ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ।


ढुङ्गे–त्रिशूली जोड्ने बेलिब्रिज निर्माण सम्पन्न भएपछि बाढीका कारण लामो समयदेखि अवरुद्ध रहेको यस क्षेत्रको यातायात सम्पर्क पुनः सहज बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *