भोटेकोशीको बाढीले व्यवसाय गुमाएका कांग्रेस नेता पुडासैनीले थाले पुनः व्यवसाय

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १, शनिबार १९:४८

नुवाकोट । भदौ १० गते आएको भोटेकोशीको बाढीले नुवाकोटको देवीघाट बजारमा ठूलो क्षति पुर्‍यायो। मानवीय क्षति तुलनात्मक रूपमा कम भए पनि बाढीका कारण धेरै परिवारले घर, व्यवसाय तथा वर्षौँको मेहनतबाट जोडेको सम्पत्ति गुमाउन पुगे।

बाढीबाट व्यवसाय गुमाउनेमध्येका एक हुन् नेपाली कांग्रेसका युवा नेता, कल्याणीदेवी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी श्यामकुमार पुडासैनी।

बाढीले पुडासैनीको व्यवसायमा झण्डै ८ देखि १० लाख रुपैयाँ बराबरको क्षति पुर्‍यायो। व्यवसाय नै बाढीले बगाएपछि केही समय कठिन अवस्था आए पनि उनले आफ्नो पुरानो व्यवसायलाई पुनः निरन्तरता दिने प्रयास थालेका छन्।

‘राजनीति र समाजसेवा मेरो सामाजिक जिम्मेवारी हो भने व्यवसाय जीवन सञ्चालनको माध्यम हो,’ पुडासैनी भन्छन्, ‘त्यसैले विपत्तिले व्यवसायमा क्षति पुर्‍याए पनि हिम्मत नहारी फेरि सुरु गर्ने प्रयास गरेको हुँ।’

उनले तत्कालका लागि करिब तीन लाख रुपैयाँ लगानी गरेर सामान्य रूपमा व्यवसाय सञ्चालनमा ल्याएका छन्। उनले असाेज ३१ गते फुलपातीबाट सञ्चालन गरेकाे (मासुपसल) व्यवसायमा खसी, लोकल कुखुरा, कुखुराको अण्डालगायतका उपलब्ध छन्। ग्राहकले आवश्यकताअनुसार स्थानीय कुखुरा तथा अण्डासमेत सहज रूपमा पाउन सक्ने व्यवस्था गरिएको छ।

बाढीले सबैथोक गुमाएपछि पुनः शून्यबाट व्यवसाय सुरु गर्नु सहज नभए पनि पुडासैनीले आफ्नो व्यवसायलाई विस्तारै पुरानै अवस्थामा फर्काउने प्रयास गरिरहेका छन्। उनीजस्तै देवीघाट तथा आसपासका क्षेत्रमा बाढीबाट प्रभावित अन्य व्यवसायीहरूले पनि सम्भव भएसम्म आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने प्रयास थालेका छन्।

तर बाढीबाट व्यवसाय तथा सम्पत्ति गुमाएका पीडितका लागि पुनःस्थापना र राहतको विषय अझै चुनौतीपूर्ण बनेको छ। पीडितहरूले राज्यबाट व्यवसाय तथा सम्पत्तिमा भएको क्षतिको उचित सम्बोधन र सहयोग पाए पुनः आफ्नो खुट्टामा उभिन सहज हुने बताउँदै आएका छन्।

नुवाकोटमा बाढी तथा पहिरोका कारण ठूलो संख्यामा परिवार प्रभावित भएका छन्। सरकारी तथ्यांकअनुसार जिल्लामा करिब २७ सय परिवार घरबारविहीन बनेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले व्यवसाय गुमाएको जनाइएको छ।

विपत्तिपछि राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना र व्यवसाय पुनर्निर्माणमा राज्यको सहयोग आवश्यक देखिएको छ। बाढीले खोसेको व्यवसायलाई आफ्नै प्रयासमा पुनः उठाउने पुडासैनीको प्रयास भने विपत्तिपछि पनि निरन्तरताको एउटा उदाहरण बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *