काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्य तथा स्वीकृतिसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
टेलिकमले प्याकेजसम्बन्धी तथ्यभन्दा फरक विवरण सार्वजनिक भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीले ४ हजार ९९९ रुपैयाँ बराबरको ३० एमबीपीएस इन्टरनेट प्याकेजका सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक समाचार प्रकाशित तथा प्रसारित भएको उल्लेख गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौंले असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाएर टेलिकमको प्याकेजबारे भ्रामक समाचार सम्प्रेषण भएको कम्पनीको दाबी छ।
टेलिकमका अनुसार कम्पनीले विगतदेखि नै निरन्तर सञ्चालन गर्दै आएको उक्त प्याकेजको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गर्दै आएको छ।
कम्पनीले असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याएको ३० एमबीपीएस प्याकेजबारे प्राधिकरणलाई जानकारी गराइसकेको जनाएको छ। उक्त प्याकेज विद्यार्थी अफरका रूपमा सञ्चालनमा ल्याइएको विषयमा समेत प्राधिकरणलाई जानकारी गराइएको टेलिकमले स्पष्ट पारेको छ।
टेलिकमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ३० एमबीपीएसको एकवर्षीय प्याकेज र ४ हजार ९९९ रुपैयाँको प्याकेजको स्वीकृति तथा सञ्चालनसम्बन्धी समाचारका कारण कुनै भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
नेपाल सरकारबाट स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै नेपाल टेलिकमले प्रचलित कानुनको पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्