नुवाकोटकी जीवित कुमारीको संरक्षणमा उठ्यो गम्भीर प्रश्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ४, मंगलवार १४:०४

कार्तिक ३, नुवाकोट । नुवाकोटमा पुस्तौँदेखि संरक्षण हुँदै आएको जीवित कुमारी परम्पराको निरन्तरतामाथि सांस्कृतिक अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन्। कुमारीको धार्मिक तथा सांस्कृतिक भूमिकालाई सम्मानजनक ढंगले निरन्तरता दिन आवश्यक पूर्वाधार, सेवासुविधा र व्यवस्थापनमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेको उनीहरूको भनाइ छ।


नुवाकोटकी ११औँ कुमारीसम्म आइपुग्दा पनि यो परम्परालाई व्यवस्थित र दिगो बनाउन आवश्यक पहल हुन नसकेको भन्दै संस्कृति संरक्षणमा सक्रिय सामाजिक सञ्जाल समूह ‘द नेवार्स’ले सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ।
समूहले जारी गरेको वक्तव्यमा काठमाडौँ उपत्यकाबाहिर अझै जीवित रहेको यस्तो दुर्लभ सांस्कृतिक परम्पराको संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।


अभियन्ताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नुवाकोट पुगेर कुमारीको दैनिक जीवन, धार्मिक अभ्यास, आवश्यकतासहित समग्र अवस्थाको अध्ययन गर्नुपर्ने माग गरेका छन्। त्यसका आधारमा दीर्घकालीन संरक्षण योजना निर्माण गरी आवश्यक बजेटसमेत सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।
त्यस्तै, पुरातत्त्व विभागबाट हाल उपलब्ध हुँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ। कुमारी परम्परासँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक पक्षको संरक्षणका लागि विभागले प्राविधिक र आर्थिक सहयोग विस्तार गर्नुपर्ने बताइएको छ।


स्थानीय तहबाट हुँदै आएको सहयोग सकारात्मक भए पनि कुमारीको नियमित पूजा, शिक्षा, स्वास्थ्य र आवश्यक हेरचाहका लागि त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने अभियन्ताहरूको भनाइ छ। नगरपालिकाले वार्षिक बजेटमै कुमारी संरक्षणलाई प्राथमिकतामा राखेर दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने माग गरिएको छ।

कुमारीका लागि आफ्नै छुट्टै तथा सुरक्षित आवासको व्यवस्था नहुनुलाई अभियन्ताहरूले सबैभन्दा महत्वपूर्ण विषयका रूपमा उठाएका छन्।

काठमाडौँको कुमारी घरको अवधारणाजस्तै नुवाकोटमा पनि धार्मिक परम्परा र कुमारीको मर्यादाअनुकूल छुट्टै आवास निर्माण गर्नुपर्ने उनीहरूको माग छ। यस्तो संरचनाले कुमारीको दैनिक जीवन, पूजा तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताइएको छ।


समयमै आवश्यक संरक्षण र सम्मानजनक वातावरण निर्माण गर्न नसके भविष्यमा कुमारी बन्न योग्य बालिका पाउन कठिन हुनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ। धार्मिक तथा सांस्कृतिक विधिअनुसार योग्य व्यक्ति नपाउने अवस्था आएमा पुस्तौँदेखि चल्दै आएको परम्परा नै संकटमा पर्न सक्ने अभियन्ताहरूको भनाइ छ।
कुमारीलाई कुनै एक समुदाय वा धार्मिक आस्थासँग मात्र जोडेर हेर्न नहुने भन्दै उनीहरूले यसलाई नेपालको मौलिक संस्कृति, इतिहास र जीवित सम्पदाको हिस्सा मानेर संरक्षण गर्नुपर्ने बताएका छन्।


नुवाकोटकी जीवित कुमारीको संरक्षणका लागि संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग, स्थानीय तह र सम्बन्धित सांस्कृतिक समुदायबीच सहकार्य गर्दै तत्काल आवश्यक कदम चाल्न ‘द नेवार्स’ले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *