भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि हानी – नाेक्सानी काेषबाट नेपालले पाउने भयो २१.६ मिलियन डलर अनुदान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १३, शुक्रबार १८:५८

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर (करिब पौने ३ अर्ब रुपैयाँ) बराबरको अनुदान प्राप्त गर्ने भएको छ।


संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गत रहेको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।


गत भदौ १० गते आएको बाढीबाट ठूलो मानवीय तथा आर्थिक क्षति भएको भन्दै नेपाल सरकारले त्यसलाई ‘हिमालयन सुनामी’का रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गरेको थियो। सरकारले ३१ अगस्ट २०२६ मा कोषको बोर्डसमक्ष विशेष आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक आग्रह गरेको थियो।


नेपालको आग्रहपछि १२ अक्टोबर २०२६ मा बसेको बोर्डको विशेष बैठकले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।


यसैबीच, आगामी ९ देखि २० नोभेम्बर २०२६ सम्म टर्कीको अन्तालियामा आयोजना हुने कोप–३१ मा नेपालको उच्चस्तरीय सहभागिता रहने भएको छ। सम्मेलनका लागि आवश्यक तयारीलाई सरकारले तीव्रता दिएको मन्त्रालयले जनाएको छ।
कोप–३१ कै अवसरमा नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ‘फ्रेमवर्क एग्रिमेन्ट फर को–अप्रेसन अन क्लाइमेट चेन्ज’मा हस्ताक्षर गर्ने तयारीसमेत भइरहेको छ।


सम्मेलनका क्रममा नेपालले अन्य पर्वतीय मुलुकहरूसँग सहकार्य गर्दै जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा देखिएका चुनौती, क्षति तथा अनुकूलनका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *