नुवाकोट । नेपाली कांग्रेस नुवाकोटकाे नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गर्ने प्रवृत्ति र आर्थिक चलखेलसम्बन्धी विषयमा गम्भीर आपत्ति जनाउँदै पार्टी नेतृत्वसँग सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
नियमित महाधिवेशन पक्षधर नुवाकोटका संयोजक श्रीराम श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेस कुनै व्यक्ति, गुट वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै लाखौँ कार्यकर्ताको त्याग, तपस्या, संघर्ष र बलिदानबाट स्थापित ऐतिहासिक पार्टीलाई आर्थिक शक्ति तथा विचौलियाको प्रभावबाट कब्जा गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा विशेषगरी गगन थापासँग जोडेर १८ करोड रुपैयाँ विचौलियालाई दिई पार्टीको नेतृत्व तथा संगठन कब्जा गरिएको भन्ने आरोप सार्वजनिक रूपमा उठिरहेको भन्दै उक्त विषयमा सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित नेतृत्वसँग माग गरिएको छ।
नुवाकोट कांग्रेसले पार्टीको नेतृत्व आर्थिक चलखेल, विचौलिया वा सीमित समूहको स्वार्थबाट नभई पार्टीको विधान, लोकतान्त्रिक पद्धति र कार्यकर्ताको वास्तविक जनमतबाट स्थापित हुनुपर्ने स्पष्ट धारणा अघि सारेको छ।
प्रेस विज्ञप्तिमार्फत कांग्रेस नुवाकोटले पाँचवटा मुख्य मागसमेत अघि सारेको छ। पार्टी कब्जा गरिएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने, १८ करोड रुपैयाँसम्बन्धी आरोपको सत्यतथ्य सार्वजनिक गरी सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्ने, पार्टीको विधान, लोकतान्त्रिक मूल्य र आन्तरिक निर्वाचन प्रक्रियाको पूर्ण सम्मान गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी पार्टीलाई आर्थिक चलखेल र विचौलियाको प्रभावबाट मुक्त राख्नुपर्ने तथा कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूको भावनाको सम्मान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस नुवाकोटले नेपाली कांग्रेस कसैको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै पार्टीको विचार, सिद्धान्त, विधि र विधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको जनाएको छ। पार्टीभित्रको लोकतन्त्र र कार्यकर्ताको अधिकारमाथि हुने कुनै पनि हस्तक्षेप आफूहरूलाई स्वीकार्य नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिको अन्त्यमा पार्टीको आन्तरिक लोकतन्त्र, विधि र कार्यकर्ताको अधिकारको पक्षमा निरन्तर उभिने प्रतिबद्धता जनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्