सर्वोच्चको पूर्ण बैठकको निर्णय : न्यायाधीशबारे समाचारमा तथ्य र प्रमाणमा ध्यान दिन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १६, सोमबार १४:२४
SARVOCHHA

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा तथा अनलाइन सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


सर्वोच्च अदालतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश तथा सम्बन्धित न्यायाधीशहरूले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेको विषयसमेतलाई आधार बनाएर अदालतको पूर्ण बैठकबाट विभिन्न निर्णय गरिएको जनाएको हो।
अदालतले संविधान र कानूनको सर्वोच्चताप्रति आफूहरू अडिग र स्पष्ट रहेको उल्लेख गर्दै संविधानको सर्वोच्चता तथा कानूनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।


सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयका सम्बन्धमा पूर्वाग्रहरहित, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानूनबमोजिम छानबिन गरी सत्य–तथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई सर्वोच्चले आग्रह गरेको छ।


त्यस्तै, सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानूनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानूनी जवाफदेहिता पूरा गर्न तथा आवश्यक सहयोग गर्न अदालत प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।


न्यायपालिकाप्रति जनताको आस्था र विश्वासमा असर नपर्ने गरी सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्न पनि सर्वोच्चले आग्रह गरेको छ। छानबिनबाट निष्कर्ष प्राप्त नभई कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।


अदालतले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा निरन्तर सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीशहरूलाई समेत आग्रह गरेको छ।


सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा यी निर्णयहरू सर्वोच्च अदालतको पूर्ण बैठकबाट गरिएको जनाइएको छ। उक्त पूर्ण बैठक २०८३ साल कात्तिक १६ गते सोमबार बसेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *