रास्वपा सभापतिको प्रश्नपछि प्रधानमन्त्री बालेनको जवाफ : कांग्रेसको गगन पक्षलाई फेरि अर्को व्यंग्य?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २०, शुक्रबार ०५:३७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले त्यसको जवाफ दिएका छन्। प्रधानमन्त्री शाहको टिप्पणी आफ्नै पार्टीका नेताहरूमा मात्र सीमित नभई पुराना राजनीतिक दल, विशेषगरी नेपाली कांग्रेसभित्रको गुटगत विभाजनतर्फ पनि लक्षित देखिएको छ।


सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए। रास्वपाका अन्य नेताहरूले पनि उक्त निर्णय गर्नुअघि पार्टीसँग छलफल नगरिएको भन्दै प्रश्न उठाएका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको निर्णयमाथि प्रश्न उठे पनि आफू नेतृत्वको सरकार देशको हित र संरक्षणमा केन्द्रित रहेको आशय व्यक्त गरेका हुन्।


प्रधानमन्त्री शाहले रास्वपाबाहेकका राजनीतिक दलहरूमा कार्यकर्ता आपसमा भिड्ने तर नेताहरू भने हाँसेर बस्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।


उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’


प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई रास्वपाभित्र देखिएको नेतृत्व र सरकारबीचको असमझदारीप्रतिको जवाफका रूपमा मात्रै नभई पुराना दलहरूमा देखिएको गुटगत राजनीति र आन्तरिक विभाजनमाथिको व्यंग्यका रूपमा समेत हेरिएको छ।


विशेषगरी नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच देखिएको राजनीतिक ध्रुवीकरण तथा कार्यकर्ताबीचको तिक्तताप्रति पनि प्रधानमन्त्रीको टिप्पणी लक्षित रहेको राजनीतिक वृत्तमा अर्थ्याउन सकिन्छ।


कांग्रेसभित्र अहिले एक पक्षका लागि अर्को पक्ष नै प्रमुख राजनीतिक प्रतिस्पर्धी र चुनौती बनेको देखिन्छ। गगन पक्ष र देउवा पक्षबीचको आन्तरिक प्रतिस्पर्धाले पार्टीको एकता र संगठनात्मक अवस्थामाथि समेत प्रश्न उठिरहेको छ।


प्रधानमन्त्री शाहको अभिव्यक्तिले सरकारको निर्णयमाथि आफ्नै पार्टीभित्रबाट उठेका प्रश्नको प्रतिवाद गर्नुका साथै पुराना दलहरूको आन्तरिक राजनीतिक संस्कार र गुटबन्दीमाथि पनि बहस सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *