हेडलाइन:
सत्ताधारी दलभित्रको असमझदारी लोकतन्त्रका लागि शुभसंकेत होइन : डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी दल र सरकारबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक रूपमा प्रकट हुन थाल्नु देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र देखिएका अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्याएको स्मरण गराएका छन्।
उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच देखिएको समूहगत विवाद, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विभाजन तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको संघर्षलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीचको विवाद तथा २०६४ पछि माओवादीभित्र संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्षले पनि मुलुकलाई नोक्सान पुर्याएको उनको भनाइ छ।
भट्टराईले इतिहासबाट पाठ नसिक्दा पुरानै गल्ती दोहोरिने उल्लेख गर्दै अंग्रेजी भनाइ ‘History repeats because men repeat their mistakes’ अर्थात् मानिसले आफ्ना गल्ती दोहोर्याउने भएकाले इतिहास पनि दोहोरिन्छ भन्ने सन्देशसमेत दिएका छन्।
जेन–जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक दलहरूले गरेका गल्ती नदोहोर्याउनुपर्नेमा जोड दिँदै उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सुझाव दिएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्