रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित किसानलाई लक्षित गरी मल वितरणको व्यवस्था मिलाउन कृषि मन्त्रालयको निर्देशन।
काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित किसानलाई लक्षित गरी ५०० मेट्रिक टन डीएपी र १ हजार मेट्रिक टन युरिया मल वितरण गरिने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास तथा खाद्य सुरक्षा महाशाखाको कृषि सामग्री व्यवस्थापन शाखाले बाढी प्रभावित क्षेत्रमा मल वितरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको हो।
मन्त्रालयले २०८३ कात्तिक २० गते जारी गरेको पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयमा मौज्दात रहेको ५०० मेट्रिक टन डीएपी र १ हजार मेट्रिक टन युरिया मल बाढी प्रभावित क्षेत्रका किसानलाई लक्षित गरी वितरण गर्ने व्यवस्था मिलाउन भनिएको छ।
रसुवास्थित भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति हुनुका साथै कृषि क्षेत्रसमेत प्रभावित भएको पत्रमा उल्लेख छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्