
काठमाडौं, पुस ७ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको भन्दै नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनु भएको छ । आज शनिवार पार्टीको बगमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । उहाँले अहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको बताउँदै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको चर्चा गर्नुभयो ।
सभापति उेउवाले भन्नुभयो, ‘‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर काँग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिकसहितको गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरु आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ । यो वास्तवमा सबैको समावेशितामा आधारित व्यवस्था हो । त्यसैकारण यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन, तर सबै साथीहरुको सहयोगले यो पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै यो पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्छ ।’’
सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।प्रदेश सभापति इन्द्र बानियाँको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशशमान सिंह,अर्जुननरसिंह केसी, , महामन्त्री विश्वप्रकाश शर्मा, ,प्रवक्ता डा. प्रकाशशरण महत,केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, कांग्रेस नेता जगदीश्वरनरसिंह केसी,काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाड. शेर्पा,लगायत सातै प्रदेशका प्रतिनिधिले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सभापति बानियाँले स्वागत मन्तव्य राख्दै कांग्रेसलाई बलियो बनाउन सबैको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । सभापति बानियाँले मुलुक संघीयतामा गएको भएपनि प्रदेशलाई अधिकार नदिएको भन्दै गुनासो समेत गर्नुभयो । उहाले संघीयतालाई बलियो बनाउँदै प्रदेशलाई अधिकार दिनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा १३ जिल्लाबाट ५ सय भन्दा बढि प्रदेश प्रतिनिधिहरुको सहभागिता रहेको छ ।