
विदुर । नुवाकोट उद्योग वाणिज्य संघको आयोजना भैरहेको नुवाकोट महोत्सवको तस्रो दिन आज पनि राष्ट्यि कलाकारहरुले प्रस्तुती दिनेछन् । आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका कलाकार व्यवस्थापन समितिका संयोजक सन्तोष उप्रेतीका अनुसार आज लोकगायक बद्री पँगेनी, दोहोरी गायिका इस्बु सन्ज्यालसहितका कलाकारहरुले विभिन्न कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।
हिजो रमेश प्रसाई र कल्पना दाहालसहितका कलाकारहरुको प्रस्तुती रहेको थियो । कलाकारहरुको उपस्थिति हुने जानकारीसँगै दर्शकहरु भने भरिभराउँ हुँदै आएका छन् । यस्तै महोत्सवमा स्थानीय उत्पादनहरुले पनि प्राथमिकता पाएको छ । महोत्सवमा दुघ र अण्डा निःशुल्क भनेपनि त्यसको व्यवस्थापन भने नभएका कारण सामाजिक सञ्जालमार्फत आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले माघ २६ गते उद्घाटन गर्नुभएको महोत्सव फागुन १ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । जिल्ला सदरमुकाम विदुरमा नै आयोजना गरिएको हुँदा यस पटक सबै क्षेत्रका दर्शकका लागि यातायातको सहजता भएको छ ।
