
फाइल तस्बिर
विदुर । मुलुकभरका हजारौ सामुदायिक विद्यालयहरु नयाँ शैक्षिकसत्र सुरु हुनैलाग्दा घर घरमा विद्यार्थी खोज्न दौडिरहेका छन् । कतिपय विद्यालयहरु त विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पनि छन् । नुवाकोट जिल्लामा नै दर्जनौँ विद्यालय खारेजीमा परेका पनि छन् । तर नुवाकोट जिल्लाकै एक सामुदायिक विद्यालयले भने विद्यार्थी भर्नाका लागि चाप बढ्दै गएपछि अभिभावकलाई नै चिठी लेखेर सम्झाउनु परेको छ । विद्यार्थी भर्नाका लागि चारैतिरबाट दवाव आउन थालेपछि विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले सार्वजनिक रुपमा नै भर्नाका लागि दवाव नदिन अपिल गर्नुभएको छ । विदुर नगरपालिका वडा नं ४ मा रहेको पृथ्वी माध्यमिक विद्यालय जिल्ला सदरमुकाम विदुरमा पर्दछ ।
जिल्ला सदरमुकाम आसपासमा अन्य सरकारी विद्यालयहरु पनि प्रशस्तै छन् भने एक दर्जन बोडिड. स्कुलहरु पनि रहेका छन् । तर पनि धेरै अभिभावको इच्छा पृथ्वीमा छोराछोरी पढाउने रहेको छ । एसइई परीक्षामा जिल्ला प्रथम र प्रदेशको दोस्रो उत्कृष्ट विद्यालयको रुपमा पर्न सफल भएपछि पछिल्लो समय विद्यालयप्रतिको आकर्षण ह्वात्तै बढेको छ । विगत केही वर्षदेखि उक्त विद्यालयले एसइई परीक्षमा शत प्रतिशत विद्यार्थीलाई राम्रो नतिजा दिलाउन सफल हुँदै आएको छ भने तल्ला कक्षाहरुमा पनि विद्यार्थीहरु संस्थागत विद्यालयमा अध्ययन गरेका भन्दा तेजिला निस्किएका छन् । जसका कारण यतिखेर जिल्लामा हुने खानेहरु समेत उक्त विद्यालयमा आफ्नो छोरा छोरी भर्ना गर्नका लागि विद्यालय प्रशासनसँग आग्रह गरिरहेका छन् ।
नयाँ शैक्षिकसत्र सुरु हुँदै गर्दा नयाँ भर्नाका लागि राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि तथा व्यवसायीहरुबाट समेत दवाव आउन थालेपछि विद्यालयका प्रधानाध्यापक लामिछानेले आफ्नो फेकबुक पेज मार्फत सार्वजनिक रुपमा नै भर्नाका लागि दवाव नदिन आग्रह गर्नुभएको छ । उहाले आफ्नो इच्छा सबै बालबालिकाहरुलाइ भर्ना गरेर पढाउने रहेपनि विद्यालयको जनशक्ति देखि अन्य व्यवस्थापनका कारण भनेजति भर्ना गर्न नसक्ने हुनाले विद्यालयका बाध्यता बुझेर विद्यालयले राखेको विधि र प्रक्रियाभित्र छिरेर आउन समेत आग्रह गर्नुभएको छ । उहाले दवावका भरमा कुनै पनि कक्षामा विद्यार्थी भर्ना नसकिने समेत स्पष्ट रुपमा सार्वजनिक गर्नुभएको छ ।
उक्त विद्यालया हाल एक हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहँदै आएका छन् । विद्यालयका प्रधानाध्यापक छामिछानेले नुवाकोट पुकारसँग भन्नुभयो,,सदरमुकाममा रहनु भएका धेरै अभिभावकको इच्छा यतिखेर हाम्रो विद्यालयमा पढाउने इच्छा गर्नुभएको छ, तर हामी यहि अवस्थामा भर्ना गर्न सक्ने अवस्थामा छैन, ।अध्यापनसँगै विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाएको छ । विद्यालय पोशाकदेखि धेरै कुरामा संस्थागत विद्यालय जस्तै बनाएको छ ।बनाइएको छ, जसले गर्दा अभिभावककको तानेको छ । सरकारले माध्यमिक विद्यालयसम्म निःशुल्क गरेको छ । विद्यार्थीले कक्षा १० सम्म निःशुल्क पाठ्यपुस्तक समेत पाउने छन् भने अन्य शुल्क लिन पाउने छैन ।
यस्तो छ, प्रधानाध्यापक लामिछानेले सार्वजनिक रुपमा गर्नुभएको अपिल
आदरणीय महानुभावहरू,
तपाईंहरू यो समाजका महत्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्छ । राजनीतिक मान्छे भएकाले, हामीसँग चिनजान वा अन्य सम्बन्ध भएका कारणले, सामाजिक व्यक्तित्व भएकाले, पेसागत प्रतिष्ठाका कारणले, अरू हैसियतका कारणले तपाईंहरूप्रति मेरो सम्मान छ । तपाईंहरूको आज्ञा पालन गर्न पाउनुलाई म आफ्नो सौभाग्य ठान्दछु ।
,पक्षपाती शिक्षक,बेइमान शिक्षक, मलाई लाग्छ, यदि यस्तै थिएँ भने शैक्षिक सत्र फेरबदलको यो याममा म अभिभावकका दैलामा विद्यार्थीको याचना गरिरहेको हुन्थें । तर आज आम परिस्थितिको ठीक विपरीत विद्यार्थी र अभिभावकको हामीकहाँ लर्को छ । मेरो बुझाइमा हामीप्रतिको यो अपेक्षा र विश्वास हाम्रो कर्मले प्राप्त गरेको सामाजिक स्वीकृति हो । मैले माथि नै तपाईंहरू हाम्रा लागि ठूला मान्छे हुनुहुन्छ भन्ने कुरा ससम्मान व्यक्त गरेको छु । आकाशको, वायुको, सूर्यका तापको, ईश्वर परमेश्वरको क्षमताको त सीमा हुन्छ भने हाम्रो क्षमताको सीमा हुन्न र रु हाम्रो पनि त सीमा छ नि । त्यही सीमाभित्र रहेर आफ्नो कर्तव्य निभाउने कोशिस गरेका छौँ जस्तो लाग्छ । भर्नाको समय आउँदैछ, हामीकहाँ विद्यार्थी राख्ने इच्छा धेरैको छ । उहाँहरूलाई सिस्टममा भन्दा भनसुनमा भर गर्ने बानी कसले बसालिदियो थाहा छैन । यही बुझाइका कारण उहाँहरू कतै तपाईंहरूकहाँ आइरहनुभएको र तपाईँहरूले जिम्मा लिनुभएको त छैन,कृपया सामुदायिक स्कूलमा एक दुई जना भर्ना गर्ने जिम्मा लिएर होइन, क्षमता बढाउन योगदान गरिदिएर हामीलाई सबैको आकांक्षा सम्बोधन गर्न सघाइदिनुहोस् । आएका सबैलाई भर्ना गरौँ । तपाईं ठूला मान्छेहरूको कर्तब्य त्यो चाहिँ हो जस्तो लाग्छ मलाई । त्यसका लागि समय लाग्ला । त्यति नहुँदासम्म हामी मौजुदा क्षमताको अन्तिम सीमामा उभिएर काम गर्छौँ । कतै गलत पो गर्छौँ कि, आएर अनुगमन गरिदिनुहोस् । पक्षपात नगर्नका लागि हामीलाई दवाव दिनुहोस् । निगरानी गर्नुहोस् । पक्षपात गर्यौँ भने, सिस्टम बिगार्यौं भने घोक्रेठ्याक लगाउनुहोस् । विद्यार्थी, अभिभावकलाई आफैँ स्कूलमा आउन दिनुहोस् । उहाँहरू आफैँ आउनुहुन्छ । सके सिस्टम भित्रबाटै भर्ना लिन्छौँ । नसके सम्झाएर चित्त बुझाएर पठाउँछौ । बीचमा जिम्मा लिने र दवाव दिने काम कसैले नगरिदिनुहोला,विद्यार्थी र अभिभावक त सिस्टम बसेको संस्था खोज्दै हिँड्नुभएको हो, तपाईं सिस्टम तोड्ने जिम्मा नलिइदिनुहोस् । तपाईँले जिम्मा लिनुभएको काम भएन भने तपाईंलाई पनि खल्लो, हामीलाई पनि खल्लो । बिन्ती छ