
शुकदेव दाहाल
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनताका आधारभुत आवश्यकताका रुपमा दुवैलाई निःशुल्कको व्यवस्था गरेको छ । सरकारले संविधानमा नै स्पष्ट रुपमा उल्लेख गरेर निःशुल्क भने पनि सबै नेपालीको पहुँचमा यो पुग्न सकेको छैन । स्थास्थ्य सँगै शिक्षालाई पनि सरकारले उत्तिकै महत्वपूर्ण स्थानमा राखेको छ । सरकारी तथ्यांकहरुका अनुसार साक्षरता प्रतिशतको दर माथिल्लो तहमा नै पुगिसकेको छ । तर त्यहि अनुसारको गुणस्तरीय शिक्षा भने प्राप्त हुुन सकिरहेको छैन । गुणस्तरीय शिक्षाका लागि अझै पनि संस्थागत विद्यालय अर्थात बोडिड. स्कुलहरुकै भर पर्नुपर्ने अवस्था छ ।
केही सिमित सरकारी विद्यालयहरु मात्रै छन् जसले विद्यार्थी र अभिभावकलाई सन्तुष्ट बनाउँदै सिँगो निजी क्षेत्रका विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । यस्ता विद्यालयहरु औलामा गन्न सक्ने भएकाले सरकारी विद्यालयको भार थेग्न सक्ने कुरा भएन । हिजोका दिनमा सरकारी विद्यालयमा न त सरकारी शिक्षकका दरबन्दी, न त विद्यालय भवन, न कम्प्युटर, इन्टरनेट केही थिएन । तर आज सबै कुरा प्राप्त छन् ।
केही छिटपुट विद्यालयहरु बाहेक देशका धेरै विद्यालयहरुले राज्य संयन्त्रसँगै अन्य विभिन्न संघ संस्था, अन्तराष्ट्यि संघ संस्थाको सहयोग र यस्ता सुविधाहरुको उपभोग गरिरहेका छन् । तर अझै पनि विद्यालयको गुणस्तरीयतामा सुधार आएको छैन । स्तम्भकार नुवाकोट जिल्लाकै भएकाले नुवाकोट जिल्लाको सामुदायिक विद्यालयका विषयमा यसमा उदाहरणको रुपमा उल्लेख गर्न खोजिएको छ । विदुर नगरपालिका वडा नं ४ मा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना गनुै पाउनु अभिभावका लागि ठूलै सफलता हात परेजस्तो हुँदैछ ।
विद्यालयमा आफ्ना छोरा छोरी भर्ना गर्नका लागि राजनीतिक नेतृत्वदेखि व्यापार व्यवसायमा आवद्ध भएको केही माथिल्लो तहका व्यक्तिहरुको दाव पुग्न थालेको छ । जसलाई पन्छाउन विद्यालय प्रशासनलाई समेत निकै धौधौ परेपछि विद्यालयका प्रधानाध्यापकले सार्वजनिक रुपमा नै अपिल जारी गरेर भर्नाका लागि दवा नदिन आग्रह गरेका छन् । यसको मुल कारण भनेको विद्यालय सदरमुकाममा भएर होइन । त्यहा नजिक अरु धेरै सरकारी र संस्थागत विद्यालय छन् तर अभिभावकले सोही विद्यालय रोज्ने प्रयास गरिरहेका छन् । यसको कारण भने गुणस्तीय शिक्षा नै हो । उक्त विद्यालय नुवाकोट जिल्लाको प्रथम र बागमती प्रदेशको दोस्रो उत्कृष्ट विद्यालय बनेको छ ।
विद्यालय प्रशासनको यो उदारहरणीय कार्यप्रति सिंगो जिल्लाले प्रशंसा गरिरहेको छ । यो देशसम्म आइपुगेको छ । यहाँ यो कुरा किन स्मरण गराउन खोजिएको हो भने के चाहे के हुदैन त ? भन्ने हो । आज सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएका कारण नै आफ्ना छोराछोरी पढाउन अभिभावकहरु राजधानी तथा महंगो बोडिड. स्कुल धाइरहेका छन् । तर सरकारी विद्यालयका शिक्षकहरु विद्यार्थी खोज्न यतिखेर भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।
यदि सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिने हो भने विद्यार्थी खोज्नु पर्ने दिन आउने थिएन भन्ने मात्रै हो । यसर्थ सरकारले जसरी शिक्षा निःशुल्कको कुरा गरेको छ, त्यसैगरि विद्यालय प्रशासनलाई बलियो बनाउने र शिक्षकहरुलाई विधि र प्रक्रियाभित्र राखेर विद्यालयमा राजनीति बन्द गराउँदै विद्यालयको गुणस्तरीयतामा ध्यान दिने हो भने सबै विद्यालय नुवाकोटको पृथ्वी माविकै अवस्थामा पुग्नेछन् । सम्बन्धित र सरोकार निकायको चेत खुलोस् ।