
काठमाडौं । सरकारले आज राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्पतलाई सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै राष्ट्पति रामचन्द्र पौडेललाई अन्त्यका लागि सिफारिस गरेको हो । प्रतिपक्षी दलको सहमति बिना अधिवेशन स्थगति गरिएपछि सरकारको विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालू अविधेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्यमान्यताविपरीत भएको बताउनुभयो । उहाका अनुसार कांग्रेसले सरकारको निर्णयको विरोध जनाएको छ । ‘सदनमा विपक्षी दलहरूले सहकारीको रकम अपचलन र विषयमा कुरा उठाउँदै आएका छन्, सरकारमा सहभागी मन्त्री नै सहकारीको रकम अपचलनमा संलग्न रहेको हुँदा निष्पक्ष र स्वतन्त्र छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठाउँदै आएका थिए,’ उहाले भन्नुभयो ‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएर बेवास्ता गर्दै आएको छ ।
प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनी सत्तापक्षले आरोप लगाएको छ, त्यो आरोप मात्रै हो।’ कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता रहेको विषय तथ्य र प्रमाणसहित कुरा उठाउँदै आएको बताउँदै प्रमुख सचेतकलेखकले यसमा सरकार गम्भीर नहुँदा सदन केही दिन अवरोध भएकाले यसको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने बताउनुभयो । कांग्रेस संसदीय दलको यो बैठकले सहकारीको रकम ठगी गर्नेको विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनका लागि थप दृढतापूर्वक उभिने प्रतिबद्धता गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । साथै बैठकले सरकारले सदनलाई पर्याप्त समय दिन नसकेकाले यस अधिवेशनमा संविधान र संघीयता कार्यान्वयन तथा जनसरोकारका विषयमा आवश्यक कानुन बन्न नसकेको ठहर समेत गरेको छ ।