
यात्रा संस्मरण


ममता शर्मा
मानव समुदायमा योग एउटा अभिन्न अङ्गको रूपमा बिस्तारै बिस्तारै स्थापित हुँदै आएको छ । हरेक मान्छे मानसिक र शारीरिक रूपमा मात्रै सबल र सक्षम हनु आवश्यक छ । यसका साथै मान्छे मानसिक रूपमा पनि स्वस्थ र सबल हुन आवश्यक छ । यी दुवै पक्षलाई सबल बनाउन बालाजु योग केन्द्रले अहम् भूमिका निर्वाह गर्दै आएको छ । यस केन्द्रमा हुने गरेको योग, ध्यान र प्राणायाम जस्ता क्रियाकलापले योगभित्र प्रवेश गरेका तमाम हामी साधक–साधिकामा जुन उर्जा र साहस थप्दै अगाडि बढाउनको लागि निस्वार्थ रूपले आफ्नो कर्मलाई अगाडि बढाउँदै जुन भूमिका निर्वाह गर्नुभएको छ त्यसका लागि श्याम गुरूलाई विशेष धन्यवाद ! योगलाई जुन निरन्तरता दिनुपर्छ त्यो निरन्तरतालाई बालाजु योगले पनि दिँदै आइरहेको छ ।

सधैँ उही समय, उही काम र उही परिवेशलाई निरन्तरता दिँदै गर्दा हामीमा जुन दिग्दारीपन आउँछ त्यसलाई स्पूmर्तिमा परिणत गर्दै उर्जा थप्ने हाम्रो यस बालाजु योग केन्द्रका आदरणीय गुरू जो सबैको मनमस्तिष्कमा श्याम गुरूको नामले परिचित हुनुहुन्छ । हरेक साधकसाधिकाको सुखदुःखमा साथ दिने श्याम गुरूबाट यस केन्द्रमा थप उर्जा प्राप्त हुन्छ । आफ्ना हरेक कुरामा अडिक रहने गुरूको नेतृत्वमा पृथ्वी जगतका प्राकृतिक र भौगोलिक बनोटलाई नजिकबाट नियाल्ने अवसर पाइरहन्छ बालाजु योग केन्द्रले । यसै सिलसिलामा २०८० फागुन २५ गते धार्मिक र आध्यात्मिक रूपमा परिचित खोटाङको हलेसी जाने निर्णयसहित हाम्रो योग परिवार उक्त दिन बिहान ६ बजे बालाजु–बाइपासबाट हिँड्यो ।
एउटै गाडीमा जाने भनेर तय गरिएको यात्रा भए पनि कारणबश दुईवटा गाडीको व्यवस्था गर्नुपरेकाले गाडी चढ्ने बेलामा तँछाडमछाडको स्थिति सिर्जना भयो । स्थितिलाई सहज बनाउँदै सानो–ठूलो गाडीमा कोही खुशी हुँदै त कोही रिसाउँदै यात्राको तय भयो । साथीहरूको ढिलाइले गर्दा गाडी केही बेर ढिलो गरी हिँड्यो । काठमाडौँबाट भक्तपुर हुँदै गाडी नमोबुद्ध चोकभन्दा केही अगाडि एउटा सानो चउरमा गएर रोकियो । यात्राको सुरुवातमा केही नरमाइलो जस्तो लागे तापनि बिस्तारै परिस्थिति सहज बन्दै गयो । म सानो गाडीमा थिएँ र मसँगै अत्यन्तै मिल्ने साथीहरू पनि थिए । गाडीको झ्यालबाट दायाँबायाँका प्राकृतिक दृश्यलाई नियाल्दै केही बेरमा हामी पनि गाडीबाट ओर्लेर तातो चिया पिउँदै फोटो खिच्नतिर लाग्यौँ । अघि काठमाडाँैबाट हिँड्दा केही मलिन अनुहारहरू त्यहाँ पुग्दा भने निकै प्रशन्न देखिन्थे ।
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो । जहाँ जता गए पनि सुन्दरताले आकर्षित गरि नै रहने ती दृश्यहरू अवलोकन गर्दै हाम्रो गाडी वी.पी. राजमार्ग हुँदै हुँइकियो । गाडी कहिले डाँडाको माथि त कहिले खोलाको किनार हुँदै अगाडि बढि नै रह्यो । हामीले खाना खाएका थिएनौँ । खाना बनाउने जिम्मा गाडी सञ्चालक मोहन दाइको समूहलाई भएकाले अर्को गाडी भने केही अगाडि नै थियो । हामी पनि पछिपछि नै थियौँ । विस्तारै विस्तारै हाम्रो गाडीको चार्ज सकिँदै थियो । खुर्कोटमा गएर चार्जमा राख्ने ठाउँ भेटेको हुँदा हामीले करिब ४० मिनेटजटि गाडीलाई चार्जमा राख्यौँ र हामी त्यहाँ वरिपरिका दृश्यहरू नियाल्न थाल्यौँ । सुनकोशी पारि देखिएका रामेछापतिरका केही दृश्यहरू उजाड देखिन्थे यद्यपि सुनकोशीको लहरले त्यसलाई बिर्साउँथ्यो । केही समयको बसाइपछि गाडी चार्ज भयो र रमाइला गफ गर्दै हाम्रो यात्रा क्रमशः अगाडि बढ्यो । शिवरात्रीको सांस्कृतिक प्रभावले हाम्रो गाडीले त्यति तिव्र गति लिन सकेको थिएन । गाडी गुडिरह्यो । पहाडी भूभाग भए तापनि सडकपेटीका दायाँबायाँका रुखहरू भने हाम्रो स्वागतका लागि नै उभिरहेको भान हुन्थ्यो । करिब दिउँसो १२ बजेतिर हामी पनि खाना बनाएको ठाउँमा पुग्यौँ । साथीहरू सुनकोशीको चिसो हावा र पानीसँग रमाउँदै फोटो खिच्दै थिए ।

यत्तिकैमा बालाजु योग केन्द्रलाई यहाँसम्म ल्याउनको लागि अहम् भूमिका निर्वाह गर्नुहुने केन्द्रका अत्यन्तै शालीन, भद्र र प्रखर व्यत्तित्व श्याम गुरूको उपस्थितिले त्यहाँको रौनक नै बदलियो । उहाँसँगै सबै जनाले थकाइलाई बिर्साउँदै नाचगानमा व्यस्त भए । वातावरण निकै रमाइलो बन्दै थियो । यत्तिकैमा मोहन दाइले खाना पाकेको सङ्केत गर्नुभयो । सुनकोशीको बगर, हल्का तातेका बालुवा र ढुङ्गा, खोलाको निलो पानी अनि पानीको बहाव र मन्दमन्द चलेको हावाको स्पर्शसँगै खाना खानुको आनन्द बेग्लै थियो । खाना पनि निक्कै स्वादिस्ट भएकोे तारिफ सबैले गरेका थिए । सुनकोशीको किनारमा खाएको यो खानाको भिन्न स्वाद यात्राभरि नै यादगार बनिरह्यो । यो योजना तय गर्ने आयोजक टिमलगाएत यसमा सहयोग पु¥याउने सबैलाई हृदयदेखि नै धन्यवाद दिन मन लाग्यो । खाना खाएर हामी आफ्नो गन्तव्यमा पुग्नको लागि दिउँसो २ बजेतिर त्यहाँबाट हिँड्यौँ ।
गाडी आफ्नै रफ्तारमा हुँइकिँदै थियो । गाडीभित्रका हामी भने प्राकृतिक छटाहरूलाई नियाल्दै मिठामिठा गफमा व्यस्त थियौँ । गाडी कोहीबेला एक्कासी झ्याप्प ब्रेक लाग्दा भने आङ सिरिङ्ग हुन्थ्यो । यसरी बाटोमा देखिएका अनेकौँ दृश्यहरूलाई अवलोकन गर्दै हामी अगाडी बढिरह्यौँ । गाडीले उदयपुरको घुर्मी छोड्दै सुनकोशी तरेर ओखलढुङ्गा छोयो । ओखलढुङगा छुनेवित्तिकै हर्कपुर पुग्न नपाउँदै गाडीलाई फेरि चार्जमा राख्नुपर्ने भयो । गाडी चार्जमा राख्नको लागि गाडीको लाइनसँगै बेलाबेलामा बत्ती जाने समस्याले त्यहाँको गर्मी खप्दै थप केही समय बस्नुपर्ने भयो । बस्ने क्रममा चिसोसँगै केही साथीले गर्मीलाई चुनौती दिँदै तात्तातो चियासमेत पिएको दृश्यले मनमा फरक अनुभूति हुँदै थियो । बसाइ लामो समय नै भएकाले सबै आ–आफ्नै गफमा व्यस्त थियौँ । मेरो मोबाइलमा एक्कासी फोन आयो । फोन मेरो पुरानो मित्रको थियो तर फोनले दिएको खबर भने दुःखद् थियो जुन खबर सुनेर म स्तब्ध भएँ । मन आत्तियो । कसैलाई देखाउन सकिँन । रुन सकिँन । बोल्न सकिँन । मनभरि विगतका यादहरू ताजा भएर आए । मेरा हरेक दुःखसुखमा साथ दिने अभिभावक समान देवकुमार सरको मृत्यको खबर पत्याउन निक्कै गाह्रो भयो । आँखा चिम्म गरेँ । सबै कुराहरूलाई बिर्सँदै चुपचाप गाडीमा बसेँ । केही बेरमा गाडी गुड्यो । अलि ढिलो भएको कारण हामी केही डराएका पनि थियौँ । गाडीले कहिले सुनकोशीलाई छोड्दै त कहिले नजिकबाट नियाल्दै आफ्नै रफ्तारमा हुँइकिरह्यो । पहाडी बाटो हुनाले मनमा कताकता डर सिर्जना हुन्थ्यो ।
भिन्न र रमाइलो अनुभूतिका साथ यात्रा अगाडि बढिरहेको थियो । यस क्रममा राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको घरलाई तल पार्दै गाडी अगाडी बढिरह्यो । साथीहरूले अनेक किसिमका गफ गरेर हाँस्दै थिए । मेरो मन भने एकतमासको भइरहेको थियो । ठाउँठाउँमा गाडी चार्जमा राख्नुपर्ने हुनाले अर्को गाडीभन्दा हाम्रो गाडी अलि पछाडि नै थियो । हाम्रो गन्तव्य ४७३६ फिटको उचाइमा अवस्थित हलेसी मन्दिर नजिक थियो । लामो दुरीको यात्रापछि साँझ ६ः३० बजेतिर गाडी विश्रामस्थलमा पुग्यो । अगाडि जाने साथीहरूले खानासँगै बासको व्यवस्था गरिसक्नुभएको थियो । हामीले पनि त्यहाँ पुगेर आफ्नो बसाइलाई व्यवस्थित ग¥यौँ । शिवरात्रीको दिन भएकाले केही समयको विश्रामपछि हामी पनि त्यस दिन नै हलेसी मन्दिरमा पूजा गर्नका लागि निस्क्यौँ । गुराँसे, तुवाचुङ, मालाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार र हरियाली छाइरहने डाँडाको काखमा अवस्थित महादेवको मन्दिर साँच्चिकै विश्वको अनौठो मन्दिरको रूपमा प्रख्यात हो भन्ने लाग्यो । बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको यस मन्दिर परिसरमा पुग्दा वातावरण साँच्चै अनौठो र रमणीय थियो । त्यहाँ दर्शनार्थीहरूको निक्कै घुइँचो पनि थियो ।
टाढाटाढाका मानिसहरू पनि त्यहाँ दर्शन गर्न आएका थिए । आफ्ना पितृहरूको आत्मशान्तिको कामना गर्दै बत्ती बाल्ने मानिसहरूको पनि उत्तिकै भीड थियो । यसरी आफ्ना पितृको आत्मशान्तिको कामनाका लागि रातभरि जागराम बस्दै बत्ती बाल्नेहरू, साँझ आरतीको समयमा मन्दिर परिसरमा बजेका घण्टीका आवाजहरू, बाजागाजाको धुन र मानिसहरूको भीडभाड यी सबै दृश्यहरूलाई नजिकबाट नियाल्दै गर्दा दिनभरि गाडीको यात्रा अनि त्यो थकान भुलेर हामी पनि केही समयको लागि महाशिवरात्रीको पर्वविशेषमा आत्मलिन हुन पुग्यौँ । फागुनको अन्तिमतिर भए तापनि साँझ छिप्पिँदै गर्दा चिसोको महसुस भने भइरहेकै थियो । हामीसित गएका साथीहरू कोही निलाहार भगवान् शिवको दर्शन गर्न भनेर पुगेका थिए । त्यसै गर्दा पनि मन्दिर परिसरमा केही समय बिताएर पुनः हामी बासस्थानतिर पर्कियौँ र खानपिन सकेर आ–आफ्नो कोठामा लाग्यौँ । दिनभरिको थकानले होला सायद सबै साथीहरू छिट्टै निदाए । म भने फागुन २५ को यो साँझ पटक्कै निदाउन सकिरहेको थिइनँ ।
भोलिपल्टको बिहानीपख मन्दिरमा बजेको घण्टीको आवाजसँगै हाम्रो निन्द्रा खुल्यो । नित्यकर्म सकेर हामी पुनः दर्शनको लागि मन्दिर परिसर पुग्यौँ । संयोगवश सोही दिन शिला दिदी र राजु दाइको बैबाहिक वर्षगाँठ परेको हुनाले सबैले बधाईका साथै सुभकामना पनि दियौँ । त्यसपछि नजिकै रहेको अद्भुत र अलौकिक गुफा हेर्नका लागि हामी तल झर्दै थियौँ । केही सिँढी ओर्लिएपछि आँखै अगाडिपट्टी पूरै डाँडाभरि नै रङ्गीविरङ्गी लुम्टाहरू फर्पmराएको देख्दा साँच्चै यहाँ बौद्ध धर्मावलम्बीहरूको पनि उत्तिकै आस्था र विश्वासको केन्द्र रहेछ हलेसी भन्ने लाग्यो । वरिपरिका दृश्यहरूलाई नियाल्दै गुफाभित्र छिर्दै गर्दा लामा गुरूहरूलाई मन्त्र उच्चारणका साथ ध्यानमा लीन भएको देख्दा एक्कैछिन भए पनि हाम्रो मनमा पनि शान्तिको आभाष भयो । किंवदन्तीअनुसार त्यहाँ भष्मासुरको आक्रमणबाट भगवान् शिवले आफू बच्नका लागि आफ्नो त्रिशुलले जमिन छेडेर अर्को गुफामा गएको भन्ने भनाइ रहेछ जुन त्यहाँ पुगेर नियाल्दा हो जस्तै लाग्यो । यी र यस्तै प्राकृतिक र भौगोलिक अवस्थालाई नियाल्दै पुनः हामी काठमाडौँका लागि फर्कियौँ । अघिल्लो दिन साँझ परेर नदेखिएका पहाडी भेगका भीरपाखाहरूलाई नजिकबाट नियाल्दै ठाउँठाउँका साँघुरा बाटाहरू र गाडीको तीब्र गतिको हुइँकाइले बेलाबेलामा मन सिरिङ्ग हुन्थ्यो । यसरी यी विविध क्षणको अनुभूत गर्दै हाम्रो गाडी निरन्तर गुडिरहेको थियो । जतिजति गाडी अगाडी बढ्थ्यो त्यतित्यति देशको भौगोलिक अवस्था र त्यहाँ बसोबास गर्ने मानिसहरूको जीवनशैली देख्दा मनमा कताकता देशका नेतृत्वहरूको असक्षमता प्रदर्शित भएको भान हुन्थ्यो । यसरी कतै पहाड र कतै खोलाको किनार हुँदै हाम्रो यात्रा पुनः काठमाडौँ मैँ पुगेर टुङ्गियो ।