
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि आज बसेको सभाको बैठक पनि स्थगित भएको छ । बैठक स्थगित भएपछि आजका सबै कार्यसूचिहरु भोलिका लागि सारिएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

फाइल तस्बिर
नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे ।
त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिए । कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल समेत भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिए । सांसदहरूबीच धकेलाधकेल र भनाभना भएपछि सभामुख घिमिरेले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन् ।