
विदुर । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले स्वस्थ, शिक्षित, समृद्ध र पर्यटकीय सुर्यगढी भन्ने नाराकासाथआर्थिक वर्ष २०८१।०८२ का लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले नीति तथा कार्यक्रम र उपाध्यक्ष मञ्जु बुढाथोकीले बजेट पेश गर्नुभएको थियो । अध्यक्षले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाले सर्वसम्वत रुपमा पारित गरेको छ ।

गाउँ सभा बैठकमा उपाध्यक्ष मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै आगामी आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले कृषकहरुलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने, सुचीकरण भएका किसानहरुलाई परिचयपत्र वितरण गर्ने, एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरत्नरता दिएको छ । यस्तै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट शुल्क लिन प्रतिबन्ध लगाएको छ भने एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने व्यवस्थाका लागि समेत बजेट विनियोजन जनाएको छ ।
यस्तै गाउँपालिकामा निर्माणाधिन १० शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेकोले अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरि संचालन गर्ने, गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउँन प्रोत्साहन गर्न न्यानो झोला र यातायात खर्चको साथै सुत्केरी भत्तालाई निरन्तरता दिइएको छ । यस्तै गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्न प्रोत्साहन गर्ने उदेश्यले अण्डा वितरण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
यो सँगै गाउँपालिका भित्रका ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यस्तै गाउँपालिकाको सुविधा सम्पन्न मुख्य प्रशासनिक भवनको निर्माण कार्य यसै वर्ष शुरु गरिने उल्लेख गरिएको छ । सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।