
नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएकोप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारी गरेको छ । पत्रकार महासंघका शाखा र प्रदेश कार्यसमितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको कुनैपनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिनै असहमति जनाइसकेको छ ।
नेपाल प्रेस युनियनले असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे माग सहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउन चाहान्छौं । लगत्तै महासंघका अध्यक्ष र महासचिवसँग भएको वार्तामा शाखा र प्रदेश समितिले सिफारिस गर्दासमेत नाम काटिएका तथा छुटेका वास्तविक पत्रकारलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने सहमति भएको थियो । महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै सम्वाद नगरी बेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा घोर आपत्ति जनाउँछौं । कुनै अमुक संगठनको स्वार्थ अनुरुप समस्या समाधान नगरी निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेमा त्यसको क्षति महासंघले व्यहोर्नुपर्नेछ ।
महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस, पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियनको ठहर छ । पत्रकार महासंघको निर्वाचनप्रक्रियालाई सहजीकरण गर्न महाधिवेशनबाट पूर्व अध्यक्षहरु सम्मिलित निर्देशक समिति गठन भएको थियो । सो समितिका सदस्यहरु महासंघको पूर्व अध्यक्षको गरिमा ख्याल नगरी सत्ता समर्थित संगठनहरुको संयुक्त बैठकमा बस्ने र विधि विपरितका प्रतिवद्धता गरी महासंघलाई अन्योलमा पार्ने काम गरेकोप्रति पनि हाम्रो आपत्ति छ ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियन आग्रह गर्दछ । बिज्ञप्तिमा भनिएको छ ।
