
रसुवा । चीनसँगको मुख्य व्यापारिक नाकाको रुपमा रहेको रसुवाको रसुवागढी नाकामा आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । रसुवागढीस्थित अध्यागमन कार्यालयले यस्तो व्यवस्था गरेको हो । कार्यालय प्रमुख मुरारी निरौलाले दिनु भएको जानकारी अनुसार नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याइएको छ । उहाँले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।
पछिल्लो समय चीनसँगको मुख्य व्यापारिक नाका केरुड. बन्दै आएको छ । तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । मालबाहकगाडीहरुलाई मात्रै आवत जावत गर्ने व्यवस्था गरिएका कारण पनि उक्त नाकामा त्यति धेरै चहल पहल हुन सकेको छैन ।