पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः पहाड–हिमालमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २१, बिहीबार ०७:४२

काठमाडौँ, जेठ २१ — पश्चिमी क्षेत्र आसपास सक्रिय रहेको उपल्लो वायुमण्डलीय न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको तथा तराईका केही जिल्लामा तापक्रम बढ्न सक्ने जनाएको छ।


हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।


बिहीबार दिनभर देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका सीमित स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।


रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही उच्च भूभाग तथा गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।


महाशाखाले विशेषगरी मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम वृद्धि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *