कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकमा उत्साहजनक सहभागिता, ५ लाख ४८ हजारभन्दा बढीले पाए NCID

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २९, शुक्रबार ०५:२९

काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसले सञ्चालन गरिरहेको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता देखिएको जनाएको छ।


पार्टी केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ।


विज्ञप्तिमा उल्लेख भएअनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ५ लाख ४८ हजार ६ सय २२ जनाले NCID प्राप्त गरिसकेका छन्। यस्तै १ लाख ४१ हजार ३ सय १ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी वडा सभापति मार्फत अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्।


इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाइएको छ।


नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने जनाएको छ। साथै अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सबै सदस्यप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *