काठमाडौं । प्रचण्ड पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
बिहीबार जारी विज्ञप्तिमार्फत दाहालले युट्युब, फेसबुक तथा टिकटकका विभिन्न अकाउन्टमार्फत फैलाइएका सामग्रीलाई आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारको संज्ञा दिँदै त्यस्ता आरोपहरू पूर्ण रूपमा अस्वीकार गरेकी छन्।
उनले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र परिवारलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएकी छन्। साथै, यस्ता गतिविधिबारे नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।
विज्ञप्तिमा दाहालले आफ्ना भाइ प्रकाशको असामयिक निधनपछि पार्टीको निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गरेकी छन्। व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गरेको उनको भनाइ छ।
दाहालले पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले चलाइएको भनिएको ‘मिडिया ट्रायल’को सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्।
उनले आवश्यक ठानिएमा कुनै पनि छानबिन वा अनुसन्धानमा सरकारलाई पूर्ण सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन्। “सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन,” भन्दै उनले आम नागरिकलाई अफवाह र भ्रममा नपर्न पनि अनुरोध गरेकी छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्