— जनकराज पाठक
समाजसँगै राजनीति पनि असाध्यै असहिष्णु बन्दैछ
“असहिष्णु समाज” त्यो समाज हो, जसले अरूको अस्तित्व, स्वतन्त्रता, पहिचान र अधिकारलाई सहज रूपमा स्वीकार गर्न सक्दैन। यस्तो समाजले मानिसहरूबीच अविश्वास बढाउँछ, संवाद र सहकार्यको अन्त्य गर्छ। यसले फरक विचार, फरक पहिचान र फरक दृष्टिकोणलाई सम्मान गर्दैन। परिणामतः शान्तिपूर्ण सहअस्तित्व कमजोर बन्छ र समाज क्रमशः विभाजित तथा तनावग्रस्त हुँदै जान्छ।
यस्तै अवस्था आज राजनीतिमा पनि देखिन थालेको छ। एकले अर्कालाई निषेध गर्नै पर्ने, विरोधीका कुरा सुन्नै नहुने, सुने पनि स्वीकार गर्नै नहुने, र केवल फरक दल वा विचारधाराको नेता भएकै कारण कसैको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दो छ। यो राजनीतिक असहिष्णुताको चरम रूप हो। यस्तो प्रवृत्तिले राजनीतिलाई मात्र होइन, समग्र समाजलाई पनि धुमिल र विकृत बनाउँछ।
सन्दर्भ : शेरबहादुर देउवाको1
नेपाली राजनीतिको प्रजातान्त्रिक आन्दोलनमा आफूलाई अग्रपंक्तिमा उभ्याएर संघर्ष गरेका शेरबहादुर देउवा प्रजातन्त्र स्थापनापछि पाँच पटक मुलुकको प्रधानमन्त्री बने। उनको कार्यकालमा राम्रो–नराम्रो जे–जे भए, त्यसको मूल्याङ्कन इतिहासले गर्नेछ। उनका कामका आधारमा समर्थन र विरोध दुवै हुनु स्वाभाविक हो, र समयले त्यसको निष्पक्ष हिसाब पनि गर्नेछ।
तर आज प्रश्न अर्कै छ—देउवा कहाँ छन्? के गर्दै छन्? कुन प्रयोजनका लागि उनी विदेशिएका हुन्? यस्ता विषयमा अहिलेसम्म सतही टिप्पणीबाहेक गम्भीर चासो देखिएको छैन। उनी किन देशबाहिर छन् भन्ने विषयमा सरकारले समेत आवश्यक संवेदनशीलता र गम्भीरता देखाएको प्रतीत हुँदैन। अझ उनले जीवनको अधिकांश समय समर्पण गरेको पार्टीले समेत उनलाई खोजेको देखिँदैन।
कस्तो विडम्बना! कस्तो निर्मम राजनीति! जुन दलका लागि उनले आफ्नो जीवनको उर्वर समय खर्चिए, आज त्यही दल उनी कहाँ छन् भन्नेबारे बेखबर जस्तै देखिन्छ।
एउटा आन्दोलन, जसले उनलाई केवल राजनीतिक रूपमा तेजोबध मात्र गरेन, शारीरिक रूपमा कुटपिटसमेत गरेर निरीह बनायो। त्यही आन्दोलनका कारण उनले आफ्नो राजनीतिक वैभव गुमाए र आज उनी गुमनाम जीवन बिताइरहेका छन्।
उनको दौराको फेर समातेर राजनीति गर्नेहरू, उनको घरको वरिपरि घुमेर राजनीतिक पहिचान बनाउनेहरू, उनकै कृपाबाट राजनीति, मान–सम्मान र धन–दौलत आर्जन गर्नेहरू आज उनको नामसमेत बिर्सन थालेका छन्।
सबैभन्दा पीडादायी कुरा त के छ भने, उनले जीवनभर समर्पित गरेको दलले पनि दुःखको समयमा उनको साथ दिएन। बरु उनको हुर्मत लिने गरी सभापति पदबाट समेत हटायो। “नयाँ नेतृत्व” र “युवाको उदय” को नाममा शेरबहादुर देउवालाई घेराबन्दी गरियो। उनलाई जबर्जस्ती किनारामा पुर्याउने मात्र होइन, निर्वाचनमा उम्मेदवार बन्नसमेत टिकट नदिने तहसम्म दोस्रो पुस्ता निर्मम रूपमा प्रस्तुत भयो।
यसले नेपाली कांग्रेसभित्र असामान्य तिक्तता र विभाजनको अवस्था सिर्जना गर्यो। आफ्नो सम्पूर्ण जीवन खर्चिएको दल आज उनीप्रति बेखबर छ। मानौँ, शेरबहादुर देउवा कहिल्यै कांग्रेस थिएनन्, वा कांग्रेस निर्माणमा उनको कुनै योगदान नै थिएन।
आफ्ना अग्रजहरूलाई यसरी अपमान गर्नु कुनै पनि राजनीतिक संस्कृतिका लागि उचित हुन सक्दैन। शक्ति र प्रभावको शिखरमा हुँदा देउवाको घर–आँगन धाएर राजनीतिक लाभ, पद, प्रतिष्ठा र अवसर प्राप्त गर्नेहरू आज उनको घर खरानी हुँदा टुलुटुलु तमासा हेरेर बसेका छन्।
यही दृश्यले बारम्बार एउटा कठोर सत्य सम्झाउँछ—राजनीति साँच्चै धेरै निर्मम हुँदो रहेछ।
(लेखक : राप्रपाका केन्द्रीय सदस्य नुवाकोट निवासी हुनुहुन्छ )
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्