काठमाडौं, २९ जेठ — नेपाली कांग्रेसले विभिन्न घटनासम्बन्धी तयार भएका तीन वटा प्रतिवेदनको कार्यान्वयन तथा सार्वजनिकरणबारे सरकारसँग जवाफ माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरतबहादुर खड्काले गत भदौ २३ गतेको घटनाको छानबिन भए पनि भदौ २४ गतेको घटनाको छानबिन कहिले हुने भन्ने प्रश्न उठाए। उनले उक्त घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरी प्रतिवेदन तयार पारेको उल्लेख गर्दै सो प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भनेर सरकारसँग स्पष्ट जवाफ माग गरे।
खड्काले आयोगको प्रतिवेदनमा प्रभावशाली व्यक्तिहरू र सांसदहरूको नाम समेत उल्लेख रहेको स्मरण गराउँदै प्रतिवेदन कार्यान्वयनमा ढिलाइ हुनु उचित नभएको बताए।
उनले सरकारको सय बुँदे कार्यसूचीमा भदौ २४ को घटनाबारे छानबिन आयोग गठन गर्ने उल्लेख भए पनि हालसम्म आयोग नबनेको भन्दै त्यसबारे पनि सरकारको धारणा माग गरे।
त्यसैगरी गृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी विषयमा गठित समितिले प्रतिवेदन बुझाइसकेको सुनिएको उल्लेख गर्दै खड्काले उक्त प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न उठाए।
प्रतिवेदन सार्वजनिक नगरी पुनः गुरुङलाई गृहमन्त्री बनाइएको भन्दै उनले प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्