नुवाकोटमा ‘स्वस्थ हिँडाइ, योग तथा सिकाइ’ कार्यक्रम सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार १४:३७

नुवाकोट, असार २ गते । जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामूलक “स्वस्थ हिँडाइ, योग तथा सिकाइ कार्यक्रम” सम्पन्न भएको छ।


“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयोजित कार्यक्रममा नियमित हिँडडुल, योग अभ्यास, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाएर मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचापलगायतका नसर्ने रोगबाट बच्न सकिने विषयमा जानकारी प्रदान गरिएको थियो।


कार्यक्रममार्फत दैनिक कम्तीमा ३० मिनेट हिँड्ने, धूम्रपान तथा मदिराजन्य पदार्थको सेवनबाट टाढा रहने र नियमित स्वास्थ्य परीक्षण गराउने सन्देश प्रवाह गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।


उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।


जनस्वास्थ्य कार्यालय, नुवाकोटले स्वस्थ जीवनशैलीको विकास गरी नसर्ने रोगमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *