–शुकदेव दाहाल
नेपाली कांग्रेसको संस्थापनपक्षले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिकाको समयसीमा नजिकिएसँगै के उक्त समयमा महाधिवेशन होला त भन्ने पार्टीभित्र नयाँ बहस सुरु भएको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०८३ असोज १६–१९ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । । यसअघि वडा, पालिका, क्षेत्रीय, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिका अनुसार आगामी श्रावण मसान्तसम्म जनसम्र्पक समितिको अधिवेशन समपन्न गरिने उल्लेख छ । यस्तै भाद्र २ गते वडा अधिवेशन,७ गते गाउँ नगर अधिवेशन,१७ गते प्रदेश क्षेत्रीय अधिवेशन,२४ गते क्षेत्रीय अधिवेशन,असोज २ र ३ गते जिल्ला अधिवेशन, असोज ७ र ८ गते प्रदेश अधिवेशन र असोज १६देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको थियो ।
तर कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेसभित्र एकमत देखिएको छैन । संस्थापन पक्षदेखि इतर समूहसम्मका नेताहरूले समय, प्रक्रिया र क्रियाशील सदस्यताको विषयलाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् । कांग्रेसको अहिलेको वास्तविकता हेर्दा महाधिवेशनको मिति घोषणा मात्रै पर्याप्त छैन, त्यसका लागि आवश्यक राजनीतिक वातावरण र संगठनात्मक तयारी अझै अधुरो देखिन्छ ।
सबैभन्दा ठूलो विवाद क्रियाशील सदस्यताको विषयमा छ । पार्टी नेतृत्वले करिब सात लाख क्रियाशील सदस्य अध्यावधिक भएको दाबी गरे पनि त्यसको स्पष्ट र पारदर्शी तथ्यांक सार्वजनिक भएको छैन। कुन जिल्लामा कति सदस्य थपिए, कति नवीकरण भए, कति नयाँ सदस्य समावेश भए भन्ने प्रश्नको जवाफ अझै अस्पष्ट छ । यस्तै अन्योलकै कारण संस्थापन इतर पक्षले पुससम्म कायम रहेको क्रियाशील सदस्यतालाई नै आधार मान्नुपर्ने धारणा राख्दै आएको छ ।
कांग्रेसभित्र अहिले स्पष्ट रूपमा दुई धार देखिन्छन्। एकातिर सभापति शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का निकट समूह र डा. शेखर कोइराला नेतृत्वको समूह इतर पक्षमा छ । गगन थापाको उदयले पार्टीभित्र नयाँ शक्ति सन्तुलन निर्माण गर्ने अपेक्षा गरिए पनि त्यसले सबै पक्षलाई एक ठाउँमा ल्याउन सकेको छैन । बरु नेतृत्व हस्तान्तरण, शक्ति बाँडफाँट र आगामी निर्वाचनको रणनीतिलाई लिएर अविश्वास बढेको देखिन्छ ।
विशेष महाधिवेशनपछि पार्टीले नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको थियो । तर विशेष महाधिवेशनले समाधानभन्दा बढी प्रश्न जन्माएको अनुभूति कार्यकर्तामा छ । नियमित महाधिवेशन समयमै हुने सहमति बनेको भए अहिलेको विवाद धेरै हदसम्म कम हुन सक्थ्यो। गएको वैशाखमै १५औँ महाधिवेशन सम्पन्न भएको भए जसको नेतृत्वमा कांग्रेस अगाडि बढ्दा पनि नेतृत्व चयन, नीति बहस र संगठन निर्माणको काम अगाडि बढिसकेको हुने थियो । चुनावमा हारजित जे भए पनि कार्यकर्तामा नयाँ उत्साह र आशा पैदा हुने थियो।
तर अहिले परिस्थिति फरक छ । लामो समयसम्म आन्तरिक विवाद, नेतृत्वबीचको अविश्वास र निर्णय प्रक्रियामा ढिलाइका कारण धेरै कार्यकर्ता निराश भएका छन् । जुन पद्धतिको विरोध गरिएको थियो, त्यहि अनुसार आफ्ना निकटका भएपछि स्तर र उसको हैसियत नहेरी पार्टीको भातृ संस्थाहरुमा धमाधम मनोनयन गर्न थालिएको छ । यसकै कारण कतिपय सक्रिय, त्याग र तपस्याकासाथ जीवन कांग्रेसमा विताएका पार्टीका नेता तथा कार्यकर्ता पार्टी छाडेर अन्य दलमा गएका छन् भने केही राजनीतिबाट नै विमुख भएका छन् । कांग्रेसको परम्परागत जनाधार भएका युवामाझ पनि पार्टीप्रति आकर्षण घट्दै गएको देखिन्छ ।
कांग्रेसको अर्को चुनौती पुस्तान्तरणसँग जोडिएको छ । पार्टीभित्र लामो समयदेखि नेतृत्वमा रहेका अनुहारहरू अझै निर्णायक भूमिकामा छन्। नयाँ पुस्ताले नेतृत्वमा अवसर खोजिरहेको छ तर पुरानो पुस्ताले पूर्ण रूपमा जिम्मेवारी हस्तान्तरण गर्न तयार देखिएको छैन। यदि महाधिवेशनको प्रक्रिया पनि सीमित नेताहरूको शक्ति व्यवस्थापनमा केन्द्रित भयो भने कांग्रेसले नयाँ पुस्ताको विश्वास गुमाउने खतरा अझ बढ्नेछ ।
कांग्रेसको इतिहास लोकतान्त्रिक आन्दोलन, जनअधिकारको रक्षा र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकाले भरिएको छ । राणा शासनको अन्त्यदेखि पञ्चायत विरोधी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो। तर इतिहासको गौरव मात्रै वर्तमान राजनीतिमा टिकिरहन पर्याप्त हुँदैन। बदलिँदो राजनीतिक परिवेशमा संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र प्रभावकारी नेतृत्व अपरिहार्य हुन्छ।
आज कांग्रेसले सामना गरिरहेको संकट केवल नेतृत्वको होइन, संगठनको पनि हो । स्थानीय तहदेखि केन्द्रसम्म संगठन कमजोर भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू लामो समयदेखि निष्क्रियजस्तै छन्। धेरै जिल्लामा कार्यकर्ता परिचालनभन्दा गुटगत समीकरण हाबी भएको देखिन्छ। यस्तो अवस्थामा महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई संगठन पुनर्जीवनको अवसर बन्नुपर्छ।
गगन थापालगायत नयाँ पुस्ताका नेताहरूले कांग्रेसलाई आधुनिक, प्रविधिमैत्री र युवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। तर त्यो प्रतिबद्धता व्यवहारमा देखिन आवश्यक छ। पार्टीभित्र पारदर्शी सदस्यता प्रणाली, आन्तरिक लोकतन्त्रको सम्मान, नीतिगत बहसको संस्कृति र योग्यताको आधारमा नेतृत्व चयन हुने वातावरण निर्माण भए मात्र कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्न सक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा अहिले सहमति हो। देउवा पक्ष, शेखर पक्ष, गगन समूह वा अन्य कुनै शक्ति केन्द्रले आफूलाई मात्र विजेता बनाउने सोच राखे कांग्रेस थप कमजोर हुनेछ । पार्टीलाई एकताबद्ध राख्ने साझा जिम्मेवारी सबै नेताको हो । व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर महाधिवेशनलाई सहमतिपूर्ण र विश्वसनीय बनाउने प्रयास हुनुपर्छ।
यदि अहिले पनि अहमता, अविश्वास र शक्ति संघर्षकै राजनीति जारी रह्यो भने कांग्रेस विभाजित मानसिकताको दलमा सीमित हुन सक्छ। कांग्रेस भारतको कम्युनिस्ट पार्टीजस्तो निमिट्यान्नै त नबन्ला तर भारतको कांग्रेस आईजस्तै आफ्नो ऐतिहासिक हैसियत गुमाएर सीमित प्रभावको दल बन्ने जोखिम भने अवश्य छ ।
त्यसैले १५औँ महाधिवेशन कांग्रेसका लागि केवल अर्को संगठनात्मक कार्यक्रम होइन, अस्तित्व र पुनर्जागरणको परीक्षा हो । यो महाधिवेशनले पार्टीलाई एकताबद्ध, ऊर्जावान र भविष्यप्रति आशावादी बनाउने कि थप विभाजित र कमजोर बनाउने भन्ने कुरा अब गगन थापा नेतृत्वको परिपक्वता र सहमतिको राजनीतिमा निर्भर छ । अझै समय बाँकी छ । दुवै पक्षले लचकता देखाउने, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने, सबैलाई स्वीकार्य प्रक्रिया अपनाउने र नयाँ–पुराना पुस्ताबीच सन्तुलन कायम गर्ने हो भने कांग्रेस फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिन सक्छ । अन्यथा, इतिहासको गौरव बोकेर मात्रै भविष्य सुरक्षित हुँदैन भन्ने कठोर यथार्थ कांग्रेसले सामना गर्नुपर्नेछ । चेतना भया ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्