रित्तो गाउँ, भरिएका सम्झना : एक प्रवासीको मनको कथा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १, शुक्रबार ०९:०३

नुवाकोट ।नुवाकोटको बेलकोटगढी नगरपालिका–मदानपुरका स्थायी बासिन्दा तथा पूर्व शिक्षक दीपक अधिकारी अहिले परिवारसँग जापानमा बसोबास गरिरहेका छन्। राहत कोटामा निम्न माध्यमिक तहमा अध्यापन गर्दै आएका उनले करिब डेड वर्षअघि शिक्षण पेशा छाडेर वैदेशिक यात्राको बाटो रोजे। तर हजारौँ किलोमिटर टाढा पुगे पनि उनको मन भने अझै आफ्नै गाउँको धुलो, चौतारी, पँधेरा र बाल्यकालका मिठा सम्झनामै अल्झिएको छ।


आधुनिक सुविधाले भरिएको विकसित मुलुक जापानमा बस्दा पनि उनलाई बारम्बार सम्झना आउँछ— बैशाख पूर्णिमाको जात्रा, केही रुपैयाँ जम्मा गरेर बरफ खाने, बासुरी र चस्मा किन्ने उत्साह। विद्यालयमा साथीहरूसँग निबुवा, भोगटे, अमला र अमिली बाँडेर खाएको स्वाद। काठको गाडी बनाएर गाउँका बाटोमा कुदेको बालापन। बनपाखामा गोठालो जाँदा गुञ्जिने लोकभाका। तम्बाखुको गन्धले महकिएको गाउँ, भोक लाग्दा हारालुछ गरेर खाएको बासी भात र मकैको रोटी, पानी परेपछि खनायो पाखो खोज्दै डुल्ने बालसुलभ जिज्ञासा।


उनलाई अझै याद आउँछन् जंगलका आँप, बनतरुल, कटुस र बयर। घाँसको भारी बोकेर फर्किएकी आमाले तताएर दिएको दूध–भात खाएर विद्यालय उक्लँदा उकालोमा पेट चस्किएको अनुभूति। दशैँमा कमेरो माटोले घर लिपपोत गर्ने रमाइलो, चौतारीमा हालिने पिङ, वर्षमा बल्लतल्ल पाइने एक जोर स्कुल ड्रेस, खल्तीभरि कुटेर ल्याएको चिउरा खाँदै पिङ खेल्दा संसार जितेजस्तै लागेको खुशी। त्यही लुगा लगाएर मामाघर जाने यात्रा, तिहारमा देउसी–भैलो खेल्दै चामल र पैसा भाग लगाउने रमाइलो— यी सबै सम्झनाले आज पनि उनको मन भरिन्छ।


त्यतिबेला गाउँमा सुविधा कम थिए, तर मनहरू धनी थिए। अर्मपर्मको संस्कृति थियो, दुःखमा सघाउने हात थिए, चौतारीमा बसेर सुख–दुःख साट्ने चलन थियो। घरका अग्रजहरूले मकै छोडाउँदै, दाम्ला–नाम्ला बनाउँदै कथा सुनाउँथे, जीवनका मूल्य सिकाउँथे। सम्मान, इज्जत र सम्बन्धको अर्थ त्यही गाउँले सिकाएको थियो।


तर आज अवस्था फेरिएको छ। गाउँमा सडक पुगेका छन्, बिजुली पुगेको छ, सुविधा थपिएका छन्। तर ती सुविधा उपयोग गर्ने मान्छेहरू भने गाउँमा छैनन्। गाउँ रित्तिएको छ। बिरामी पर्दा तातोपानी तताइदिने छिमेकी छैनन्, मृत्यु हुँदा मलामी जुटाउन समेत कठिन भएको छ। भौतिक विकाससँगै गाउँले आफ्नो आत्मा गुमाएको जस्तो लाग्छ।


दीपक अधिकारीका लागि सबैभन्दा ठूलो पीडा यही हो— प्रविधिले मानिसलाई नजिक ल्याए पनि मनहरू टाढा बनाइदिएको अनुभूति। पहिले घर–आँगन, चौतारी र मेलापातमा भेटिने सम्बन्ध अहिले मोबाइलको सानो पर्दाभित्र सीमित भएको छ। आफ्नोपन घटेको छ, आत्मीयता हराएको छ, स्वार्थ र व्यस्तताले सम्बन्धलाई ओझेलमा पारेको छ।


जापानको व्यस्त जीवनमा बसेर गाउँ सम्झँदा उनको मन भक्कानिन्छ। उनलाई न त विलासी जीवनको मोह छ, न त सम्पन्नताको लोभ। यदि कसैले आज उनलाई “तिमी के चाहन्छौ?” भनेर सोध्यो भने, उनको एउटै उत्तर हुनेछ— “मलाई सुविधाले भरिएको गाउँ होइन, अभावै अभाव भए पनि आफ्नाहरूको माया, आत्मीयता र हाँसोले भरिएको मेरो प्यारो बालापन फर्काइदेऊ।”


यही भावनाले दीपक अधिकारीलाई आफ्नो जन्मभूमिसँग अझ गहिरो रूपमा जोडिराखेको छ। विदेशमा शरीर भए पनि उनको मन भने अझै नुवाकोटको त्यही गाउँ, त्यही चौतारी र त्यही सुनौलो बालापनमै बाँचिरहेको छ।

(अधिकारीले ईमेलमार्फत पठाउनुभएकाे अनूभुतिका आधारमा तयार गरिएको हाे )

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *