हेटौंडा। केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता सहकार्य अन्त्य भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका हुन्। केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर रहन उपयुक्त नहुने निष्कर्ष निकालिएको उनले बताए।
थपलियाले भने, “मैले राजीनामाका लागि निर्देशन दिएको छु। अब आज बुझाउने वा भोलि बुझाउने भन्ने उहाँहरूको निर्णय हो।”
यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। तर, पार्टीको केन्द्रीय निर्देशन नआएकाले अन्तिम समयमा उक्त निर्णय रोकिएको थियो। पछिल्लो केन्द्रीय राजनीतिक निर्णयसँगै प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको एमाले स्रोतले जनाएको छ।
हाल वाग्मती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको आगामी राजनीतिक अवस्था, नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्