काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रात्रिकालीन यात्रा नगर्न अनुरोध गरिएको छ।
जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नुवाकोटसहित २३ अति जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ।
रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।
प्राधिकरणले परिस्थितिअनुसार जुनसुकै बेला थप क्षेत्रमा पनि सवारी सञ्चालन रोक्न सकिने जनाएको छ। सम्भावित विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त राजमार्ग खुलाउन डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै प्राधिकरणले आपत्कालीन सहायता आवश्यक परे वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना र चेतावनी आधिकारिक माध्यमबाट नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्