विदुर, नुवाकोट । सम्भावित अति भारी वर्षा, बाढी र पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार र आइतबार रातिको समयमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद रेग्मीद्वारा जारी अनुरोधअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा साउन २ र ३ गते राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म नुवाकोट जिल्ला भित्र तथा जिल्ला बाहिरबाट प्रवेश गर्ने अधिकांश सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको हो।
प्रशासनले यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक र निजी सवारीको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ। मौसमको प्रतिकूलता र सडकको अवस्थाअनुसार आवश्यक परे यो समयभन्दा बाहिर पनि सवारी आवागमन रोक्न सकिने उल्लेख गरिएको छ।
प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विशेषगरी रातिको समयमा यात्रा नगर्न तथा यातायात व्यवसायीलाई समेत पूर्ण सहयोग गर्न अनुरोध गरेको छ। साथै विपद्को अवस्थामा सहयोग तथा जानकारीका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन सञ्चा
लन केन्द्र (DEOC) ११३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रशासनले सबै नागरिकलाई सतर्क रहन, नदी–खोला, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्