काठमाडौं । केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाबीच नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयबाट पछि हटेको छ ।काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने प्रस्ट पारे ।
उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलिएको मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान र हल्लामात्र भएको बताए ।
“पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन आएपछि पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्छौँ,” उनले भने ।
पौडेलका अनुसार हाल वाग्मती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् छ । केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव प्रदेश सरकारमा तत्काल नपर्ने उनले संकेत गरे ।
“गठबन्धनका विषयमा माथिल्लो तहमा छलफल भइरहेको हुन सक्छ, तर अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन । त्यसैले अहिले नै सरकार छाड्ने वा राजीनामा दिने अवस्था छैन,” उनले भने ।
पछिल्ला दिनमा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट तथा बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको विषयमा उठेका विवादबारे पनि पार्टी नेतृत्व तहमा छलफल भइरहेको उनले बताए । त्यससम्बन्धी निर्णय एकरदुई दिनभित्र टुंगो लाग्ने उनको भनाइ छ ।
यसैबीच, एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र गठबन्धनका अन्य दलसँग निरन्तर संवाद गरेर मात्रै निर्णय लिइने जानकारी दिए ।
“राजनीतिमा परिस्थिति हरेक दिन बदलिन्छ । त्यसैले अहिले नै सरकार छाड्ने वा बस्ने भन्ने निर्णय भएको छैन,” उनले भने, “पार्टी केन्द्रको निर्देशन र अन्य दलसँगको संवादपछि मात्रै थप निर्णय हुन्छ ।”
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्