प्रकाशकीय ः विश्वासको १९ वर्ष, जिम्मेवारीको नयाँ अध्याय

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ६, बुधबार ०८:५५

प्रिय पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा सहयोगी महानुभावहरू,

नुवाकोट पुकार साप्ताहिक आज गौरवका साथ २०औँ वर्षमा प्रवेश गरेको छ । यो केवल एउटा पत्रिकाको यात्रा होइन, सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारिताप्रतिको हाम्रो अटल प्रतिबद्धताको १९ वर्षे इतिहास पनि हो ।
मुलुकमा लोकतन्त्र स्थापना भएसँगै शान्ति, समृद्धि, सुशासन र स्थायित्वप्रतिको नेपाली जनताको आकांक्षालाई आत्मसात गर्दै आजभन्दा १९ वर्षअघि नुवाकोट जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई नुवाकोट पुकारको प्रकाशन प्रारम्भ भएको थियो । त्यसयता समयले अनेकौँ उतारचढाव देखायो । आर्थिक चुनौती, राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति, सञ्चार क्षेत्रका संकट र बदलिँदो प्रविधिसँग जुध्दै हामीले आफ्नो यात्रालाई निरन्तरता दिएका छौँ ।


यस यात्रामा हामीलाई टिकाइराख्ने शक्ति हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा प्रकाशकीय र सम्पादकीय टोलीको अथक मेहनत, विश्वास र साथ नै हो । यही विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो भन्ने हामीले ठानेका छौं ।
नुवाकोट पुकारको मूल उद्देश्य सुरुदेखि नै स्पष्ट छ—नागरिकलाई आफ्नै गाउँ, समाज र जिल्लामा भइरहेका घटना, विकास, सम्भावना र चुनौतीबारे स्वच्छ, निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले सूचना प्रदान गर्नु । साथै राज्यका सकारात्मक कामलाई प्रोत्साहन गर्ने र नागरिक हितविपरीत हुने गतिविधिप्रति जिम्मेवारीपूर्ण रुपमा खबरदारी गर्नु हाम्रो पत्रकारिताको मूल धर्म हो । हामी कुनै व्यक्ति, दल वा समूहभन्दा माथि उठेर सत्य र जनहितलाई केन्द्रमा राख्ने पत्रकारितामा विश्वास गर्छौँ । कहिलेकाँही हामीमाथि लाग्ने अवान्छित आरोपप्रति हामीसम्मान त गछौंँ तर त्यसको जिम्मेवार भने पक्कै छनौँ भन्ने थप प्रष्ट पार्न चाहान्छौं ।


विगत केही वर्षयता निजी सञ्चारमाध्यमले अभूतपूर्व आर्थिक संकट भोगिरहेका छन् । विशेषगरी वर्तमान बालेन्द्र शाह नेतृत्वको दुईतिहाई नजिकको लोकतानित्रक सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीतिका कारण धेरै सञ्चार संस्था अस्तित्वकै संघर्षमा पुगे । सर्वोच्च अदालतको आदेशपछि केही राहतको अनुभूति भए पनि स्वतन्त्र सञ्चारमाथि विभिन्न स्वरूपमा दबाब सिर्जना हुन सक्ने अवस्थाप्रति हामी अझै सचेत छौँ । स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो भन्ने मान्यताबाट हामी कहिल्यै पछि हट्ने छैनौँ । जुन राज्यले पनि समयमा नै बुझोस् भन्ने हाम्रो कामना छ ।


राजधानीसँग नजिक भए पनि नुवाकोटको विज्ञापन बजार सीमित छ । यही यथार्थलाई स्वीकार्दै हामीले नुवाकोटसँगै काठमाडौं र छिमेकी जिल्लाका गतिविधिलाई पनि समाचारको दायरामा समेट्ने प्रयास गर्दै आएका छौँ । राजधानीमा समेत कार्यक्षेत्र विस्तार गर्दै पाठकमाझ अझ गुणस्तरीय, विश्वसनीय र प्रभावकारी सामग्री पु¥याउने अभियानलाई आगामी दिनमा थप सशक्त बनाइनेछ ।
२०औँ वर्षमा प्रवेश गर्दै गर्दा हामी पुनः एउटा दृढ संकल्प दोहोर्याउन चाहन्छौँ—जुनसुकै कठिन परिस्थिति आए पनि निष्पक्ष, स्वतन्त्र, जिम्मेवार र जनउत्तरदायी पत्रकारिताबाट नुवाकोट पुकार कहिल्यै विचलित हुने छैन । सत्यको पक्षमा उभिने, नागरिकको आवाज बोल्ने र समाजलाई सही सूचना प्रदान गर्ने हाम्रो अभियान अझ दृढताका साथ अघि बढिरहनेछ ।


यस ऐतिहासिक अवसरमा हाम्रो यात्राका सहयात्री सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, संवाददाता, कर्मचारी, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हार्दिक आभार, सम्मान र कृतज्ञता व्यक्त गर्दछौँ। विश्वासलाई अझ मजबुत बनाउँदै, जिम्मेवारीलाई अझ गहिरो बनाउँदै—हामी २०औँ वर्षको नयाँ यात्रामा अघि बढेका छौँ ।
धन्यवाद ।
शुकदेव दाहाल
अध्यक्ष तथा प्रबन्ध निर्देशक

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *