कांग्रेसको एकता र गगन थापा नेतृत्वको ऐतिहासिक जिम्मेवारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ६, बुधबार ०९:०४

– शुकदेव दाहाल
नेपाली कांग्रेस आज फेरि एउटा महत्वपूर्ण मोडमा उभिएको छ। यो केवल नेतृत्वको प्रश्न होइन, पार्टीको भविष्य, लोकतान्त्रिक आन्दोलनको निरन्तरता र नेपाली जनताको भरोसासँग जोडिएको विषय हो। आज स्वर्गीय जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस मनाइरहँदा कांग्रेसभित्रको एकता, सहकार्य र आपसी विश्वासलाई कसरी बलियो बनाउने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण बनेको छ। बीपीले जीवनभर लोकतन्त्र, मेलमिलाप, विचारको सम्मान र राष्ट्रिय एकताको राजनीति गर्नुभयो। उहाँप्रतिको सच्चा श्रद्धाञ्जली केवल औपचारिक कार्यक्रम गरेर होइन, उहाँले देखाएको मार्गमा पार्टीलाई अघि बढाएर मात्र सम्भव हुन्छ।


गगन थापाको कार्यशैलीप्रति मेरा आफ्नै केही विमति र असन्तुष्टिहरू छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वको आलोचना गर्नु वा फरक मत राख्नु अस्वाभाविक होइन। तर यी असहमतिका बीच पनि गगन थापा मैले विश्वास गर्ने, समर्थन गर्ने र अझ सशक्त देख्न चाहेको नेपाली कांग्रेसका सभापति हुनुहुन्छ। त्यसैले उहाँ सफल हुनु भनेको एउटा व्यक्तिको मात्र सफलता होइन, नेपाली कांग्रेसको सफलता हो। कांग्रेस बलियो भयो भने लोकतान्त्रिक राजनीति बलियो हुन्छ, र लोकतन्त्र बलियो भयो भने देशले पनि स्थिरता र विकासको दिशा समात्न सक्छ।


तर पछिल्ला केही निर्णय र प्रस्तावहरूले भने गम्भीर प्रश्न उठाएका छन्। विशेषगरी, आफैँ महामन्त्री रहँदा विवाद समाधान भइसकेको क्रियाशील सदस्यताको विषयलाई पुनः अद्यावधिक गर्ने प्रस्ताव राजनीतिक दृष्टिले उपयुक्त देखिँदैन। यसले समाधान भइसकेको विवादलाई फेरि जीवित बनाउने, अनावश्यक अविश्वास सिर्जना गर्ने र संगठनलाई थप विभाजित गर्ने खतरा बढाउँछ। पार्टीलाई अहिले नयाँ विवाद सिर्जना गर्ने होइन, पुराना घाउ निको पार्दै साझा यात्राको वातावरण बनाउने आवश्यकता छ।


नेतृत्वलाई दिइने सल्लाह पनि यतिबेला अत्यन्त संवेदनशील विषय बनेको छ। गगन थापाका सल्लाहकार को–को छन् भन्ने मलाई जानकारी छैन। तर केही निर्णय र अभिव्यक्तिहरू हेर्दा उहाँलाई सफल बनाउनेभन्दा असफल बनाउने गरी सल्लाह दिने प्रयास भइरहेको हो कि भन्ने आशंका पैदा हुन्छ। कुनै पनि नेताको वरिपरि रहने व्यक्तिहरूको पहिलो जिम्मेवारी नेता र संस्थालाई बलियो बनाउनु हो, आफूलाई हिरोु सावित गर्नु होइन। इतिहासले देखाएको छ—गलत सल्लाहले धेरै सक्षम नेताहरू पनि असफल भएका उदाहरण प्रशस्तै छन्।


अर्कोतर्फ, चौधौँ महाधिवेशनबाट आएको नेतृत्व र विशेष महाधिवेशनबाट स्थापित नेतृत्वबीच कुनै समायोजन, सहकार्य वा सम्मानजनक समझदारी नहुने हो भने कांग्रेसको वास्तविक एकता सम्भव हुँदैन। संगठनभित्र बहुमत र अल्पमत हुन सक्छ, तर लोकतान्त्रिक दलमा सबै पक्षको सम्मान र सहभागिता सुनिश्चित हुनुपर्छ। एक पक्षले अर्को पक्षलाई पूर्ण रूपमा अस्वीकार गर्ने संस्कृतिले कहिल्यै पनि स्थायी समाधान दिँदैन।


आज संस्थापन इतर पक्षमा रहेका भनिएका अधिकांश नेताहरू नेपाली कांग्रेसको लामो राजनीतिक इतिहाससँग जोडिएका व्यक्तित्वहरू हुन्। उहाँहरूले प्रजातन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, जेल–नेल भोग्नुभएको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको प्रतिनिधित्व गर्नुभएको छ र पार्टीलाई कठिन परिस्थितिमा पनि जोगाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यस्ता अनुभवी नेताहरूलाई बोझका रूपमा प्रस्तुत गर्ने वा उनीहरूलाई सँगै लैजानु आकाश खस्ने विषयजस्तो प्रचार गर्नु नितान्त गलत राजनीतिक सोच हो। यसले कुनै एक पक्षलाई फाइदा पुग्दैनस बरु समग्र नेपाली कांग्रेसलाई कमजोर बनाउँछ।


पार्टीभित्र अहिले संस्थापन इतर पक्षले अघि सारेका प्रस्तावहरू—विशेषगरी गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने तथा साझा नेतृत्वको भावना विकास गर्ने—जस्ता विषयहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। यी प्रस्तावहरूलाई केवल शक्ति संघर्षका रूपमा होइन, पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा हेर्न आवश्यक छ। संस्थापन इतर पक्षले गगन थापालाई आधिकारिक सभापतिका रूपमा स्वीकार गर्नु आफैँमा ठूलो राजनीतिक लचकता र परिपक्वताको संकेत हो। अब त्यसको प्रत्युत्तरमा संस्थापन पक्षले पनि उदारता, सहिष्णुता र समावेशी नेतृत्वको परिचय दिनुपर्छ।


लोकतान्त्रिक पार्टीभित्र फरक विचार हुनु कमजोरी होइन, शक्ति हो। तर फरक विचारलाई दुश्मनीमा बदल्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँछ। आज कांग्रेसले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बाहिरको राजनीतिक प्रतिस्पर्धा मात्र होइन, आफ्नै कार्यकर्ता र नेताहरूबीच बढ्दो अविश्वास पनि हो। यो अविश्वास हटाउन संवाद, सम्मान र सहमतिको संस्कृति विकास गर्नैपर्छ।


आजको राजनीतिक परिवेशमा नेपाली कांग्रेसमाथि जनताका अपेक्षा अत्यन्त उच्च छन्। आर्थिक चुनौती, युवाहरूको बढ्दो विदेश पलायन, सुशासनप्रतिको जनआकांक्षा र लोकतान्त्रिक मूल्यहरूको संरक्षणजस्ता विषयमा कांग्रेसले स्पष्ट दृष्टिकोण र बलियो नेतृत्व प्रस्तुत गर्नुपर्ने बेला हो। यस्ता राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने पार्टी यदि आन्तरिक विवादमै अल्झिरह्यो भने त्यसको सबैभन्दा ठूलो क्षति स्वयं कांग्रेसलाई हुनेछ।
यदि अहिले पनि संस्थापन पक्ष आवश्यक लचकता देखाउन तयार भएन र सम्मानजनक एकताको प्रयासलाई बेवास्ता गरियो भने कांग्रेसभित्रको विभाजनको जोखिम अझ बढ्न सक्छ। यस्तो अवस्था आयो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले वहन गर्नुपर्नेछ। नेतृत्वको अर्थ अधिकार मात्र होइन, सबैलाई समेट्ने क्षमता, त्याग र समयअनुसार निर्णय गर्ने विवेक पनि हो।


आज बीपी कोइरालाको ४४ औंँ स्मृति दिवसमा हामीले उहाँका भाषण उद्धृत गर्नेभन्दा उहाँका आदर्शलाई व्यवहारमा उतार्न सक्यौँ भने मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। बीपीले मेलमिलापको राजनीति गर्नुभयो, संवादको बाटो रोज्नुभयो र लोकतन्त्रलाई व्यक्तिभन्दा माथि राख्नुभयो। आज कांग्रेसलाई पनि त्यही उदारता, त्यही सहिष्णुता र त्यही दूरदृष्टि आवश्यक छ।


स्तम्भकार कांग्रेसको विचारधारासँग लामो समयदेखि निकट रहेर विद्यार्थी कालदेखि नै सक्रिय रहेका कारण यो अवस्थामा एउटै आग्रह हो—कांग्रेसलाई कसैले जित्ने वा हार्ने मैदान नबनाऔँ। यो सबै कांग्रेसजनको साझा संस्था हो। नेतृत्वले सबैलाई साथमा लिएर अघि बढ्ने, असहमतिलाई सम्मान गर्ने र साझा भविष्य निर्माण गर्ने साहस देखाओस्। यही बाटोले मात्र कांग्रेसलाई बलियो बनाउनेछ, लोकतन्त्रलाई सुदृढ गर्नेछ र बीपीको सपनालाई जीवन्त राख्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *